भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीको महत्वपूर्ण योगदान छ। भारतमा अङ्ग्रेजहरूले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए। सर्वप्रथम सन् १७५७ मा लर्ड क्लाइवले पहिलो गभर्नरका रूपमा शासन सत्ता स्थापना गरेपछि व्रmमशः ४१ जना गभर्नर र भायसरायहरूले भारतलाई उपनिवेश बनाई शासन गरे। अन्तिम भायसराय लुइ माउन्टवेटनले सन् १९४७ को १४ अगस्तसम्म भारतमा शासन गरे।
अङ्ग्रेजविरुद्ध भारतीयहरूको आन्दोलनको सङ्गठित थालनी सन् १८५७ को सिपाही विद्रोहबाट भएको थियो। त्यसपछिका दिनमा महात्मा गान्धीको नेतृत्वमा नमक सत्याग्रहदेखि विदेशी वस्त्र बहिष्कार जस्ता आन्दोलन भए तर सन् १९१९ को पञ्जावको जलियावाला बागको विद्रोहले भारतीय स्वतन्त्रता आन्दोलनमा ठुलो महत्व राख्छ। अङ्ग्रेज जर्ज रौलटद्वारा प्रस्तावित कानुनको विरोधमा महात्मा गान्धीले २३ मार्च, सन् १९१९ मा अनशन प्रारम्भ गर्नुका साथै देशभरि आमहडतालको आह्वान गरे। त्यसपछि सम्पूर्ण भारतमा आमहडताल सुरु भयो। पञ्जावको अमृतसरको जलियावागमा हजारौँ जनता अङ्ग्रेजका विरुद्ध आमसभा गरी भाषण गर्न थाले। त्यहाँका उच्च पुलिस अधिकारी जनरल डायरको आदेशमा अन्धाधुन्द गोली चल्न थाल्यो। जसमा करिब चार सय जनाको घटनास्थलमै मृत्यु भयो भने एक हजारभन्दा बढी घाइते भए। यसरी अङ्ग्रेज शासकले आन्दोलनकारीलाई क्रूरतापूर्वक कुल्चियो तर पनि अङ्ग्रेजविरुद्ध आन्दोलन बढ्दै गयो।
अन्त्यमा सन् १९४२ को ‘भारत छोडो’ आन्दोलनले निर्णायक भूमिका निर्वाह ग-यो। भारतीय राष्ट्रिय कङ्ग्रेसको सन् १९४२ को ८ अगस्तका दिन बम्बईमा भएको महाधिवेशनमा महात्मा गान्धीद्वारा ‘अङ्ग्रेज तुरुन्त भारत छोड’ भनी सङ्कल्प प्रस्ताव पारित गरियो। त्यसपछि सम्पूर्ण भारतमा अङ्ग्रेजविरुद्ध कडा आन्दोलन प्रारम्भ भयो। भारतीय ठुला नेताहरू डा राजेन्द्रप्रसाद, पण्डित, जवाहरलाल नेहरू, जयप्रकाशनारायण, डा राममनोहर लोहिया आचार्य, कृपलानी, सुरजनारायण सिंह, रमानन्द मिश्र, योगेन्द्र शुक्ला जस्ता हजारौँ नेता र कार्यकर्ता गिरफ्तार भए। त्यही सिलसिलामा हजारीबाग जेलमा डा राजेन्द्रप्रसादसँगै बीपी कोइराला पनि थुनिए। अन्य जेलहरूमा मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र, कुश्वेश्वर पाठक, बालचन्द्र शर्मा, सुन्दरराज चालिसे जस्ता कैयौँ नेपाली थिए।
यसै व्रmममा हजारीबाग जेल तोडेर जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंह भागे। उनीहरूले सुरुमा भारतका विभिन्न सहरमा भूमिगत रूपमा बस्दै आन्दोलन हाँक्न थाले। भारत बस्दा अङ्ग्रेज शासकबाट पक्राउ पर्ने डर थियो। नेपाल सुरक्षित र आन्दोलन सञ्चालन गर्न अनुकूल स्थल हुन सक्छ भन्दै क्रान्तिकारी सुरजनारायण सिंह भूमिगत रूपमा नेपालको सप्तरी जिल्लामा आएर वातावरण बनाउन थाले। सप्तरीको सीमावर्ती नियोर गाउँका क्रान्तिकारी नेता अवध सिंहलाई साथ लिएर उनी पहिलोपल्ट सप्तरी जिल्लाको कोइलाडी बरसाइनस्थित रामेश्वर सिंहको घरमा आइपुगे। रामेश्वरबाबुले भारतमा अध्ययनरत रहँदा भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी भई चेतना हासिल गरिसकेका थिए।
भारतका विभिन्न प्रान्तबाट ‘भारत छोडो’ आन्दोलनका नेताहरू शरण लिइरहेका थिए। तीमध्ये केन्द्रीय नेताहरू जयप्रकाश नारायण, डा राममनोहर लोहिया, विजया पट्टवर्धन, डा वैद्यनाथ झा थिए। अरू आन्दोलनकारी कोइलाडी, बिसहरिया, सकरपुरा, सखडा, बरसाइन, बन्दरझुला गाउँहरूमा भूमिगत रूपमा स्थानीय व्यक्तिका घरमा बसिरहेका थिए। सप्तरीको बरसाइनस्थित रामेश्वरबाबुको घरमा ठुला नेताहरूको बढ्दो सङ्ख्याले गर्दा राणाशासकले थाहा पाउँछन् कि भन्ने आशङ्का थियो। त्यसैले आन्दोलनकारीलाई भूमिगत रूपमा विभिन्न ठाउँमा छरेर बसाउने योजना बनाइयो। योजनाअनुसार रामेश्वरबाबुले आफ्नो जमिनदारी कामत भएका ठाउँ कोशीपारि कुशाहा बक्रोटप्पुमा बस्ने व्यवस्था मिलाए। त्यहाँ जयप्रकाश डा लोहिया, डा वैद्यनाथ झा, विजया पट्टवर्धनहरूका लागि नयाँ किसिमका घर बनाइएका थिए। केहीलाई कोइलाडीका चतुरानन्द सिंह र जयमङ्गल सिंहको घरमा बस्ने बन्दोबस्त गरेका थिए।
जयप्रकाश नारायण, सुरजनारायण सिंहहरूले कङ्ग्रेस सोसलिस्ट पार्टीको सम्मेलन भूमिगत रूपमा सप्तरीमै गर्ने इच्छा प्रकट गरेपछि रामेश्वरबाबुले बरसाइनपूर्वको बन्दरझुला गाउँमा १२ अप्रिल, १९४३ का दिन सो सम्मेलन आयोजनाका लागि व्यवस्था मिलाए। तीन दिनको उक्त सम्मलेनमा भारतका विभिन्न प्रान्तबाट आएका कङ्ग्रेस सोसलिस्ट पार्टीका करिब पाँच सय जना कार्यकर्ताले भाग लिएका थिए। सबै सहभागीको खर्च रामेश्वरबाबु स्वयंले बेहोरेका थिए।
सम्मेलन निर्विघ्नतापूर्वक सम्पन्न भएपछि भारतीय नेताहरू जयप्रकाश नारायण र सुरजनारायण सिंहहरू झन् उत्साहित भए। सप्तरीमा भूमिगत गुरिल्ला युद्धका लागि प्रशिक्षण दिने ठाउँको खोजी गर्न थालियो।
भूमिगत रूपमा भारतीय आन्दोलनकारीलाई महिनौँदेखि सप्तरीवासीले लुकाएर राखेका थिए। केही दिनपछि अङ्ग्रेज सरकारको दबाबमा राणा सरकारले यी भूमिगत आन्दोलनकारीलाई सुराकीद्वारा पत्ता लगाई पक्राउ गरियो। राणा सरकारले सेना पठाएर कोशीपारि कुशहा–गमहरियामा बसेका भारतीय नेता जयप्रकाश नारायण, डा राममनोहर लोहिया, डा वैद्यनाथ झा, कार्तिकप्रसाद सिंहलाई पक्राउ गरी हनुमाननगर गोश्वाराको कारागारमा बन्दी बनायो। नेताहरू पक्राउ परेको खबर पूरै सप्तरी जिल्लामा आगोसरह फैलियो। यो खबर हनुमाननगरका स्थानीय व्यक्ति बुनीलाल पाण्डेले बरसाइनमा गएर रामेश्वरबाबुलाई सुनाए। खबर पाउनेबित्तिकै उहाँले सप्तरीको पश्चिमी इलाकाको कुशाहानजिकको सुरुङ्गा जङ्गलमा कार्यरत आजाद दस्ताका जवानलाई सूचना पठाए। त्यहाँबाट आजाद दस्ताका जवानहरू रातीराती बरसाइनस्थित रामेश्वरबाबुको घरमा आइपुगे।
त्यहाँ हनुमाननगर जेलमा राणाशासकद्वारा बन्दी बनाइएका भारतीय नेताहरूलाई कसरी निकाल्ने विषयमा व्यापक छलफल भयो। त्यसपछि रामेश्वरबाबुले आफ्नो भतिजा तारिणीप्रसाद सिंहको नेतृत्वमा सरदार नित्यानन्द सिंह, सुरजनारायण सिंह, अवध सिंह, गुलाबी सोनारलगायतका क्रान्तिकारीहरूसँगै सप्तरीका युवाले रातारात हनुमाननगर गोश्वारामाथि आव्रmमण गर्न आइपुगे। हनुमाननगर गोश्वारा र कारागारमाथि अन्धाधुन्द गोली फायरिङ भयो। गोश्वारामा रहेको टेलिफोन तार काटियो। बडाहाकिम निवासको सञ्चार सम्पर्क विच्छेद गरियो। त्यहाँ ड्युटीमा रहेका सेन्ट्री प्रहरी जनार्दन झाको घटनास्थलमै गोलीद्वारा मृत्यु भयो। क्रान्तिकारी चारैतिरबाट घेरा हाली फायरिङ गर्न थाले। बडाहाकिमको निवासमा बलिरहेको लालटेनमाथि फायरिङ गरी टुक्राटुक्रा पारियो।
बडाहाकिम आत्तिएर लुके। उनको सुरक्षार्थ खटिएका प्रहरी जवान ज्यान जोगाएर भागे। व्रmान्तिकारीले कारागारको ढोका फोरी भारतीय नेताहरू जयप्रकाश नारायण, डा राममनोहर लोहियाहरूलाई मुक्त गर्दै जय नेपालको गगनभेदी नारा लगाए। तिनीहरूलाई सप्तरीवासीले रातारात कोशी नदीबाट नाउमा चढाई भारततिर पठाए। यसरी सप्तरीवासीले भारतीय नेताहरूलाई सकुशल उद्धार गरी ज्यानको रक्षा गरे। राणा शासकविरुद्ध पहिलोपल्ट सप्तरीको हनुमाननगरमा गोली चलेको थियो। हनुमाननगर गोश्वारामाथि आव्रmमण गरेको अभियोगमा १२७ जनालाई गिरफ्तार गरी मुद्दा चलाइयो।
गिरफ्तारमध्ये अधिकांशलाई राजविराज जेल र २२ जनालाई काठमाडौँ केन्द्रीय कारागार चलान गरियो। केन्द्रीय कारागारमा थुना परी सजाय पाउनेहरूमा रामेश्वरप्रसाद सिंह, तारिणीप्रसाद सिंह, जयमङ्गलप्रसाद सिंह, चतुरानन्द सिंह, मीनबहादुर सिंह, रामजी सिंह, कामानन्द मिश्र, शत्रुघ्नप्रसाद सिंह, विन्देश्वरी सिंह, रामदत्त कोइराला, वैद्यनाथ उपाध्याय, आनन्दीप्रसाद सिंह, चन्द्रप्रसाद सिंह, देवनारायण सिंह, समरबहादुर प्रजापति, विष्णुध्वज श्रेष्ठ, सेवक माझी र कृष्णवीर कामी थिए। तीमध्ये तारिणीप्रसाद सिंह र कृष्णवीर कामीको केन्द्रीय कारागारमै मृत्यु भयो। यसरी दुई जना भारतीय स्वतन्त्रता आन्दोलनमा सहिद भए।
यसरी भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरीका वीर सपुतले आफ्नो ज्यानको बाजी लगाएर सहादत दिए। हनुमाननगर जेल तोडी विसं २००० जेठ ९ गते भारतीय नेतालाई निकालिएको थियो। सप्तरी जिल्लामा हरेक वर्ष त्यो दिनको सम्झना गरिन्छ। स्वतन्त्र भारत सरकारले यति वर्ष बित्दा पनि ती नेपाली सेनानीको उचित सम्मान गरेको छैन।
लेखक अधिवक्ता हुनुहुन्छ।