काठमाडौं, जेठ ८ गते । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)मा गोपालप्रसाद निउरेले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सिडेनको भावी अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।
कांग्रेस भित्रको गुटगत प्रतिनिधिका रुपमा थप तीन उम्मेदवार मैदानमा उत्रिँदा निउरेको स्वतन्त्र उम्मेदवारी परेको हो । सिडेनभित्रको गुटबन्दी र सिन्डिकेटविरुद्ध आफूले उम्मेदवारी दिएका निउरेले बताउनुभयो ।
चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी पनि चुनावी मैदानमा होमिनुभएको छ । वरिष्ठ जलविद्युत विज्ञ निउरेले २०५३ सालमा पश्चिमाञ्चल क्याम्पसबाट सिभिल ओभरसियर गर्नुभएको थियो ।
ईन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसबाट २०५७ सालमा बीइ इन सिभिल इन्जिनियरिङ गर्नुभएका उहाँले २०६५ मा पुल्चोक क्याम्पसबाट जलविद्युतमा एमएससी गर्नुभएको थियो । पढाईमा अब्बल र पेशागत रूपमा दक्षता भएका उहाँ २० वर्षदेखि जलविद्युत र ऊर्जाको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
दुई दर्जन भन्दा बढी जलविद्युत आयोजनाको डिजाईन तथा निर्माणमा संलग्न निउरे सयपत्री हाईड्रोपावर र युनिट्स ईन्जिनियरीङ प्रालिका संचालक पनि हुनुहुन्छ । सगरमाथा इन्जिनियरीङ कलेजको शेयरधनी तथा निवर्तमान संचालक निउरे इन्जिनियरिङ क्षेत्रमा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान गर्नुभएको छ ।