• १३ वैशाख २०८१, बिहिबार

व्यास पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

blog

व्यास नगरपालिकालाई पूर्ण खोप कार्यक्रम घोषणा सहभागि अतिथि ।

अमरराज नहर्की

तनहुँ, जेठ ८ गते । तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । 

जिल्ला समन्वय समिति तनहुँका प्रमुख तथा खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख वाग्लेले व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा नगर प्रमुख न्यौपानेले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो । 

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती बताउनुहुन्छ । सोती भन्नुहुन्छ, "राष्ट्रिय खोप तालिका अनुसार नगरका १४ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।" 

नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । 

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । 

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि व्यास नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा एक मात्रा पनि खोप नलगाएको वडा नम्बर १ मा एक जना बच्चा रहेको विभिन्न वडाका गरी ३७ जनाले आशिक खोप लगाउन छुट भएको पाइएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिनुभयो । गुरुङले भन्नुभयो, "सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएका छौँ ।"

नगरपालिकाभर ०–५९ महिना उमेर समूहका ३ हजार चार सय १९, जना बालबालिका रहेको मा ३८ जना खोप लगाउनबाट छुटेको जानकारी उहाँले दिनुभयो ।