• १६ चैत २०८०, शुक्रबार

संसार देख्न पाउँदा बालक खुसी

blog

खोटाङ समाचारदाता 

खोटाङ, जेठ ८ गते । ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक बालकको मोतियाबिन्दुको शल्यक्रिया सफल भएको छ। मोतियाबिन्दुले जन्मैदेखि आँखा नदेख्ने ऐँसेलुखर्क गाउँपालिका –३, ऐँसेलुखर्क भोक्तेनीका १० वर्षीय लालकुमार खुलाल शल्यक्रियापछि अहिले आँखा देख्ने भएका छन्।  

प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा जेठ ४ देखि जेठ ६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिविरमा ७८० जनाले सेवा लिएका थिए। तीमध्ये ५२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो।  

बालक खुलाल जन्मजात मोतियाबिन्दुको समस्याबाट पीडित थिए। जन्मदै दुवै आँखाको दृष्टि धमिलो भएका खुलाल अरूको सहारामा हिँडडुल गर्थे। स्वर सुनेर आफन्तलाई चिन्थे। अरूले हातमा समाएर डोराइरहँदा आँखा हातले छोपेर हिँड्थे। नदेखेर लरबरिँदै हिँड्ने खुलालको आँखामा शल्यक्रियापछि ज्योति खुलेको छ। उनी अहिले आफैँ हिँड्न सक्ने भएका छन्। आफ्नै आमालाई पहिलो पल्ट राम्ररी देख्न पाउँदा उनको खुसीको सीमा छैन।  

खर्च अभावले अस्पतालसम्म लगेर खुलालको आँखाको उपचार गराउन सकिएको थिएन। गाउँमै निःशुल्क आयोजना भएको शिविरबाट छोराले संसार देख्न पाएको आमा सुशीला खुलाल बताउनुहुन्छ। खुलालको अहिले देब्रे आँखाको शल्यक्रिया गरिएको छ । शल्यव्रिmया सफल भएसँगै जन्मिएको १० वर्षपछि खुलालले संसार देखेका छन्। नेपाल नेत्र ज्योति सङ्घ खोटाङको समन्वय एवं सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क आँखा शल्यचिकित्सा शिविर आयोजना गरेको हो। खुलालको दाहिने आँखाको शल्यक्रियाका लागि महिना दिनपछि आउने, जाने र खाने व्यवस्थासहित लहान बोलाइएको सगरमाथा चौधरी आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जयकुमार सिंहले बताउनुभयो । 

खुलाल दम्पतीका चार छोरामध्ये लालकुमार साहिँलो हुन्। गाउँकै प्रजातन्त्र प्राविमा कक्षा ४ मा अध्ययनरत लालकुमार आँखा नदेख्ने भएपछि साथीले सुनेको भरमा कनिकुथी लेखपढ गर्न सिक्ने गरेका थिए। जन्मजात मोतीबिन्दु भएका लालकुमारलाई दुई वर्षको उमेरमा आँखा उपचार शिविरमा लगिएको थियो तर १६ वर्ष नपुगेसम्म शल्यव्रिmया गर्न मिल्दैन भनेर फर्काइएको आमा सुशीलाको भनाइ छ।  खुलाल दम्पतीको आर्थिक अवस्था दयनीय छ। सुशीलाले आफ्नो सुनचाँदी फुकालेर, खसीबाख्रा बेचेर, ऋण खोजेर उपचार प्रयास गरे पनि रकम अपुग भएपछि होमनाथलाई घर फर्काइएको थियो।