• ७ वैशाख २०८१, शुक्रबार

कोशी प्रदेश योजना आयोगका उपाध्यक्षको शपथ

blog

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेर्ती पद तथा गोपनीयताको शपथ लिनुहुँदै । तस्बिर : गोकुल पराजुली

गाेकुल पराजुली

विराटनगर, जेठ ७ गते । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोनाको असरको रूपमा आएको आर्थिक सङ्कुचनको अवस्थालाई ध्यानमा राखेर आगामी योजनाहरू तयार गर्न आयोगले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

पुरानो १ नं. प्रदेशको रूपमा रहेको कोशी प्रदेशले आगामी दिनमा आफ्ना कामले पनि १ नं. साबित गर्नुपर्ने चुनौती रहेको बताउँदै मुख्यमन्त्री कार्कीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई साकार बनाउन उपाध्यक्ष उप्रेतीको भूमिका प्रभाकारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै नवनियुक्त उपाध्यक्ष डिल्लीराम उप्रेतीले स्थानीय स्रोत साधान र स्थानीय अर्थतन्त्रको व्यवस्थापन गर्दै योजनाहरू निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड दिने बताउनुभयो । 

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । 

महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्राध्यापन गर्दै आउनुभएका उप्रेती त्रिभुवन विश्व विद्यालयको पूर्व रजिस्ट्रार हुनुहुन्छ । शपथ ग्रहण समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, सभासद्लगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।