• २२ असार २०८१, शनिबार

संघीयता खारेजीको कुरा नीति, कार्यक्रममा आउनुपर्छ : अध्यक्ष केसी

blog

प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुँदै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । फाइल तस्बिर

काठमाडौं, जेठ ७ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सङ्घीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले सङ्घीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभएको हो। 

उहाँले नेपालमा सङ्घीयता विरुद्धको जनमत तयार भइरहेको पनि बताउनुभयो। उहाँले लोकतन्त्र र गणतन्त्रलाई सिद्ध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताउनुभयो। उहाँले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा सङ्घीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ। सङ्घीयताले लोकतन्त्र, गणतन्त्रलाई समेत सिद्ध्याउने हो कि भन्ने खतरा छ। त्यसकारणले मौकामै हामी सतर्क हुनुपर्छ। लोकतन्त्र र गणतन्त्रमाथि प्रतिगमनको खतरा अझै रहेको छ। लोकतन्त्रविरुद्ध बादल मडारिएको छ। यसका विरुद्धमा हामी सतर्क हुनुपर्छ र एक हुनुपर्छ। कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ। संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाइ सङ्घीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ।’ 

उहाँले वर्तमान सरकार कायम हुनुपर्ने र सरकारले ल्याएका नीति, कार्यक्रम पारित हुनुपर्ने बताउनुभयो।