• ७ वैशाख २०८१, शुक्रबार

अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता

blog

आधारशिविरमा आयोजना गरिएको दौड प्रतियोगिताका सहभागिहरु । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन शनिबार चार हजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

आधार शिविरको पर्यटकीय सम्भाव्यताको खोजी र स्वदेश तथा विदेशमा प्रचारप्रसार गरी सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । एक सय मिटरको दौड प्रतियोगितामा पालिकाका कर्मचारी, जनप्रतिनिधि, पत्रकार र पर्यटन व्यवसायीसहित ३० जनाले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा पत्रकार सन्दीप शर्मा रिजाल प्रथम, पालिकाका फिल्ड सहायक यामप्रसाद पुर्जा द्वितीय र प्रभु बैङ्क पोखरेबगर शाखाका कर्मचारी विष्णुप्रसाद रिमाल तृतीय हुनुभएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । 

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमुख प्रशासकीय अधिकृत सुवेदी, ४ नम्बरका वडाध्यक्ष लोकबहादुर फगामी, ८ का खमबहादुर पुन र ७ का मइलन पुर्जाले क्रमशः तीन हजार, दुई हजार, एक हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

साथै आधार शिविरमै जनप्रतिनिधि र कर्मचारीकाबीच आयोजना गरिएको छेलो हान्ने प्रतियोगितामा पालिकाका कर्मचारी यामप्रसाद पुर्जा पहलमान घोषित हुनुभयो ।