• १३ वैशाख २०८१, बिहिबार

व्यावसायिक पत्रकारिता आजको आवश्यकता

blog

सुनसरी समाचारदाता

इटहरी, जेठ ७ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ। 

नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्कीले सञ्चारकर्मीले सत्य तथ्य समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो। 

उहाँले सूचना र प्रविधिको प्रयोग मार्फत समाजलाई सही सूचना प्रवाह गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो। सूचना र प्रविधिको विकासले विश्वलाई एउटा गाउँको स्वरूप दिएको चर्चा गर्दै उहाँले प्रविधिको दुरुपयोगले समाजमा निम्तिएका विभेदतर्फ पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। 

पूर्वअर्थ मन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीले जटिल अर्थतन्त्रका बावजुद नेपाल श्रीलङ्का र पाकिस्तानको बाटोमा नजानेसमेत ठोकुवा गर्नुभयो। मुलुकलाई उत्साहका साथअगाडि बढाउने र देशको अर्थतन्त्रलाई लयमा ल्याएर नेपालीको विकास निर्माणको अभिलाषा पूरा गर्न हालको शुक्रबार प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमले बाटो देखाएको दाबी उहाँले गर्नुभयो। 

सो कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले विषम परिस्थितिबाट मुलुकअगाडि बढेको वर्तमान अवस्थामा सबै श्रमजीवी पत्रकारबीच एकता अपरिहार्य रहेको चर्चा गर्नुभयो।