• २७ पुस २०८१, शनिबार

व्यवस्थित सहरी योजना निर्माण हुने

blog

काठमाडौँ, जेठ ७ गते । उपत्यकाका महानगरपालिका र नगरपालिकाको सहभागितामा एकीकृत संयन्त्र निर्माण गरी सहरी विकास योजनाका कार्यक्रम  सञ्चालन गरिने भएको छ । 

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उपत्यकाको एकीकृत विकासका लागि १८ वटै नगरपालिकाको सहभागितामा एकीकृत संयन्त्र निर्माण गरी व्यवस्थित सहरी योजना बनाउने उल्लेख गरिएको छ । 

साबिक स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पनि उपत्यकाको एकीकृत विकास गर्नका लागि उपत्यकामा मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो । त्यसपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि उपत्यकाका सबै नगरपालिका प्रमुख र उपप्रमुख सम्मिलित उपत्यका नगरपालिका फोरम निर्माण गरिएको थियो । उक्त फोरमले उपत्यकाको एकीकृत विकासका लागि सहरी योजना बनाउन पटक पटक छलफल गरे पनि योजना बन्न सकेको थिएन । 

गत चैतमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा उपत्यका एकीकृत सहरी योजना निर्माण गर्नका लागि नगरपालिका फोरम निर्माण गरिएको थियो । फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले उपत्यका नगरपालिका फोरमको योजना अनुसार नै सरकारले उपत्यकाको एकीकृत संयन्त्रण निर्माण गरी एकीकृत सहरी योजनासम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख गर्नु स्वागतयोग्य भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब उपत्यका नगरपालिका फोरमलाई थप कार्यक्रम  अगाडि बढाउनसमेत सहयोग पुगेको फोरमले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा उपत्यकाको एकीकृत सहरी योजना निर्माण गरिने छ ।” 

उहाँका अनुसार उपत्यकामा देखिएका फोहोरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधारको विकास, ट्राफिक समस्याको समाधान, खानेपानीको उपलब्धता, सांस्कृतिक सम्पदाको संरक्षण, उत्पादित कृषियोग्य जमिनको संरक्षण गर्ने एकीकृत सहरी योजनामा समावेश गरिने छ । 

त्यस्तै तरकारी बजारको व्यवस्थापन, उपत्यकाका सबै नगरपालिकामा करको दर र दायरा फरक फरक भएकाले करको दर तथा दायरामा एकरूपता कायम गर्नेलगायतका सामूहिक समस्याको सामूहिक रूपमा सामाधान गर्दै उपत्यकाका दिगो सहरी विकासका लागि उपत्यकाका एकीकृत सहरी विकास योजना सञ्चालन गर्न सकिने बताउनुभयो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहरी विकास मन्त्रालयसमेतको सहभागितामा उपत्यकाको एकीकृत सहरी विकास योजनासम्बन्धी कार्य निर्माण गर्नुपर्ने र त्यसपछि सहरी विकासको योजना अगाडि बढ्ने जनाएको छ ।