हाम्रो सौन्दर्य चेतना विवेकमा आधारित नभएर चर्म चक्षुमा निर्भर छ । अन्त प्रज्ञाभन्दा चर्म चक्षुको फैसला ग्राह्य हुने परिपाटी बनेको देखिन्छ । सुन्दरताको मानक र परिभाषा मानवीय छैन । रङ्ग रोगनको आधारमा सुन्दर हुने, बस्त्र र आभूषणको बलमा सुन्दर देखिने जात र धर्म, सम्पन्न र विपन्न भूगोल वासस्थानको आधारमा उच्च र नीच भनिने जुन अवधारणा छ, त्यसको कारण हामी मानवीय र वैज्ञानिक परिभाषाभन्दा टाढा छौँ । मानवताको अवमूल्यन हाम्रो सौन्दर्य चेतले गरेको छ ।
यसर्थ सौन्दर्यचेत र मानकबारे व्यापक विमर्श नयाँ शिराबाट उठाउनुपर्ने देखिन्छ । आरम्भिक सौन्दर्य चेतना र वर्तमानमा भिन्नता हुन्छ । सामाजिक प्रव्रिmयाले कतिपय चेतनाको नवनिर्माण, विनिर्माण गर्छ र कतिपय भत्काउँछ । आदिम काल र आजको चेत फरक छ, परम्परागत रूपमा रहेका सौन्दर्यका दृष्टान्त र मान्यताभन्दा पृथक् मान्यता वैज्ञानिक र मानवीय हुँदै विकसित हुँदैछन् । विमर्शका नयाँ नयाँ अवधारणा, मान्यता र सोचहरू पलाएका छन् ।
रूप र आवरणमा देखिने कथित सुन्दरता र प्राज्ञिक बौद्धिक, सुन्दरता भिन्न कुरा हुन् । बेग्लै सौन्दर्य चिन्तन हुन् । श्याम वर्णको हुनु नराम्रो हुनु होइन । श्वेत वर्णको हुनु, राम्रो हुनु होइन श्याम र श्वेत दुवैमा नराम्रो, राम्रो गुण हुन्छ । रङ्ग भौतिक पहिचान हो । व्यक्ति समुदायको गुण र वैगुनको मानक हुन सक्दैन । रङकै आधारमा कोही सक्षम र कोही असक्षम बन्दैन ।
शारीरिक उचाइ, आवरणको आकर्षण वास्तविक सुन्दरता मापन गर्ने माध्यम होइनन् । सुन्दरता मान्छेको आनीबानी, चरित्र, आचरण अनुशासन र शैलीमा देखिनु पर्छ न कि रूपमा ? रूपवान् देखिनु र रूपवती हुनुको सौन्दर्य प्रतिमान अब भत्किन लागेको छ ।
सौन्दर्य अब स्वभाव र शीलमा परीक्षण गरिन्छ । आचरण व्यवहार र नैतिकतामा नापिन्छ । शारीरिक सौन्दर्य भनेको स्वस्थ हुनु हो । स्वस्थ हुनु मानसिक रूपमा पनि त्यत्तिकै जरुरी छ जति शारीरिक । रूपको आकर्षण, जवानीको आकर्षण अर्थात् बाह्य आकर्षण क्षणिक र अस्थिर हुन्छ तर वैचारिक र बौद्धिक सैद्धान्तिक आकर्षण चिरकालका लागि रहन्छ ।
सौन्दर्यको मूल्य सामाजिक, राजनीतिक, परिवेश र संस्कृतिमा आउने बदलावामा निर्माण गरेको हुन्छ । सौन्दर्ययात्मक मूल्य पनि स्थिर नभई बदलिन्छ यो समाजको ऐतिहासिकता अनुसार पृथक्–पृथक् हुन्छ । तसर्थ हामीले अभ्यास गरेको राजनीतिमा पनि नवीन चेतना र सौन्दर्यको खोजी गर्नु जरुरी भएको छ ।
सौन्दर्यको स्रोत मान्छेको आत्मा हो र मान्छे आफैँले सौन्दर्यको सिर्जना गर्दछ भन्ने मान्यता प्रत्ययावादी चिन्तकहरू व्रmोचे, जाँपाल सात्रलगायतको देखिन्छ । मान्छेले निर्माण गर्ने सौन्दर्यानुभूति अब बदलिनु पर्छ । त्यसैले कुनै पार्टी विशेषको चुनाव चिह्न नै प्रधान बन्ने स्थितिको अन्त्य गरेर पार्टीको नीति कार्यव्रmम र त्यसलाई संवहन गर्ने नेताको गुण अवगुण र चरित्र मूल्याङ्कन गरेर मतदान नगर्ने किन ? आकर्षण चुनाव चिह्नमा होइन नीति सिद्धान्त, कार्यव्रmम, विचार र त्यसको प्रवाह गर्ने नेतृत्व क्षमतामा हुनु पर्छ भनेर विमर्शको थालनी गरियो भने अन्यथा हुने छैन । बहुलवादी समाजमा निषेध र प्रतिशोधलाई स्थान नहुने हुँदा नवीन सोचका बारे घोत्लिनुलाई सकारात्मक अर्थमा ग्रहण गरी यसका गुण अवगुणबारे तर्क खुला गरिनु सान्दर्भिक हुने छ ।
पार्टीको चुनाव चिह्नको आधारमा लौरो उठाए पनि जित्छ भन्ने अवधारणालाई गलत सिद्ध गर्न पनि सचेत मतदाताले उम्मेदवार हेर्ने उसको शैली, जीवन चरित्र, निष्ठा, समाजप्रतिको समर्पण महìवपूर्ण र मूल्यवान् पक्ष हो । चुनाव चिह्नको आधारमा मात्रै चुनाव जित्ने र चिह्नका लागि आफैँमा मारामार गर्ने लड्ने प्रवृत्तिको अन्त्य आजको आवश्यकता भएको छ ।
कुनै पनि छनोटमा विवेक प्रयोगको नमुना देखिनु पर्छ । चुनाव चिह्न नै सर्वेसर्वा होइन भन्ने कुरा कांग्रेस २०१५ सालमा चुनाव लड्दा उसका लागि रुख चिह्न पहिलोपल्ट प्राप्त गरेको र त्यसैमा दुई तिहाई मत ल्याएको बाट स्पष्ट हुन्छ । त्यस्तै २०६४ को ऐतिहासिक संविधान सभाको चुनावमा पनि नेकपा माओवादीले प्रत्यक्षमा प्राप्त सिट चुनाव चिह्नको कारण नभएर ऊप्रतिको आकर्षणको कारण सम्भव भएको हो ।
यदि चिह्न नै मूल विषय हुन्थ्यो भने २०१५ सालदेखि रुख चिह्न लिएको नेपाली कांग्रेस र सूर्य चिह्न लिएको एमाले भन्दा गोलाकार भित्र हँसिया हथौडा चिह्नले किन सबैलाई आश्चर्य चकित हुने गरी चुनावी परिणाम हात लायो ? यसैगरी गत २०७९ मङ्सिरको चुनावमा रास्वपाको घन्टी चुनाव चिह्नले प्राप्त गरेको मतले परम्परागत चुनाव चिह्न बोक्ने दलहरूलाई बेस्सरी झस्काइदिएको छ ।
चुनावमा चिह्नभन्दा पार्टीको नीति र सो नीति अवलम्बन गर्ने पात्र व्यक्ति र चरित्र आकर्षक हुनु पर्छ । व्यक्ति भौतिक रूपमा भन्दा मानसिक र वैचारिक रूपमा शोभनीय हुनु वाञ्छनीय हुन्छ । चुनाव चिह्नभन्दा विचार, दल र व्यक्तिको चरित्र छनोट गर्ने अवस्था हुन्थ्यो भने २०४८ सालदेखि मादल चिह्नलाई सर्वस्व ठान्ने भक्तपुरका मादलवादीको सट्टा अर्को मान्छे र पार्टीले जित्ने सम्भावना पनि उत्तिकै रहन्थ्यो । त्यति मात्र हैन रुख चिह्नमार्फत २०४८ देखि डडेलधुराबाट अनवरत विजयी बन्दै आएका देउवा प्रतिस्थापित बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।
देउवा कहिल्यै पराजित बन्नु नपरेको कारण उनको देश, लोकतन्त्र, जनता र विकासप्रतिको समर्पणले मात्र पक्कै होइन । सँधै र निश्चित चुनाव चिह्नले गर्दा आफ्नो पार्टीको चिह्न नै पूज्य देवता सम्झने मनोवृत्ति र परम्पराले गर्दा कतिपय नयाँ सम्भावना र सिर्जनात्मक क्षमतालाई निषेध गरेको देखिन्छ । संसद्लगायत नीति निर्माणको थलोमा पुग्ने योग्य र स्वतन्त्र व्यक्तिलाई पार्टीको स्थायी चुनाव चिह्नको कारण व्यावधान परेको देखिन्छ ।
पार्टी पुरानो र सो पार्टीको चिह्न पुरानो भएको कारण नूतन सम्भावनालाई छेक्ने रोक्ने तगारो भएको कारण प्रखर सम्भावना र बुलन्द क्षमता भएका व्यक्ति राज्यको नीति निर्माण तहमा पुग्न रोकिने, विकास निर्माण कार्यन्वयनको थलोमा पुग्न वञ्चित भएको आजको टड्कारो अवस्था हो । चुनाव चिह्नको सिन्डिकेट र एकाधिकारको कारण सहभागिता मूलक लोकतन्त्रमा प्रत्यक्ष परोक्ष घात गरेको छ । त्यसैले यसबारे गम्भीर बहस पैरवी, छलफल चलाउनु सान्दर्भिक छ ।
नयाँ सम्भावना चिचिलोमै निमोठिएको छ । चुनाव चिह्न वर्णानुक्रम र कालव्रmमिक वा आलोपालो एवं वैज्ञानिक वितरण प्रणालीबाट हुनु पर्छ । चुनाव चिह्न एक चुनावका लागि मात्र हुने वैज्ञानिक मापदण्ड निर्धारण गरिनु पर्छ । दलको चुनाव चिह्नको एकाधिकार र जबर्जस्ती रोक्न मात्रै सकियो भने पनि बहुदलीय व्यवस्थामा सीमित पार्टी सिन्डिकेट र एकाधिकार समाप्त भएर व्यक्तिको नीति र उसले अख्तियार गर्ने सिद्धान्त चुनिने प्रबन्ध सहज सरल र सम्प्रेष्य बन्न सक्ने सम्भावना बढ्छ ।
‘कम्फर्टटेबल र कन्फिडेन्ट हेल्दी र इजी गोइङ’ नै उम्मेदवारको लक्षण र विशेषता हुनु पर्छ । शासक बन्ने मानसिकता त्यागेर सेवक बन्ने प्रतिबद्धता र सामाजिक रूपमा परीक्षित व्यक्ति नै जनताको सच्चा उत्तराधिकारी बन्न सक्छ । जनतालाई पार्टीहरूले प्रशासन होइन सेवा र शासक होइन सेवक उपलब्ध गराउनु पर्छ ।
विश्वव्यापी चिनिएको चुनाव चिह्न र कहिल्यै नसुनिएको, नचिनिएको वा कम चिनिएको चुनाव चिह्नमा, मतपत्रको सिरानमा सधँै रहने चुनाव चिह्न र पुछारमा या बिचतिर रहने चुनाव चिह्नमा प्रतिस्पर्धा गराउनु एउटालाई हात खुट्टा बाँधिएका र खुला छोडिएका दुई भिन्न क्षमताका बिचको प्रतिस्पर्धा जस्तो हुन्छ, न्यायोचित बन्न सक्दैन । चुनाव चिह्नमा दलीय एकाधिकार अन्त्य मात्रै गरिन सकियो भने पनि अनुत्पादक क्षेत्र चुनाव चिह्नमा पार्टीले गर्ने ठुलो धनराशि जोगिन्छ ।
विवेक र अन्तः प्रज्ञा भएको सौन्दर्य चेतना विकास गर्न सकियो भने समाज रूपवादी मात्रै भएर बस्दैन र पार्टीको चिह्नलाई मात्र आदर्श भनेर पुज्दैन । तीन पुस्ते कांग्रेस, तीन पुस्ते कम्युनिस्ट, हामी जहिल्यै राजावादी हामीले फलानो चिह्नबाहेक अन्यत्र भोट हालेको छैन जस्ता अभिव्यक्ति विज्ञानसम्मत र सामाजिक रूपान्तरणका लागि ग्राह्य विषय होइनन् ।
समय र समाजको गतिशील चेत र अवधारणाले अवैज्ञानिक र पक्षपाती मान्यता बोक्न सक्दैन । त्यसैले चित्रमा होइन चरित्रमा, लघुतामा होइन व्यापकतामा, सङ्कुचनमा होइन फैलावटमा समाज विकासको मार्ग सहज बन्छ । चुनाव चिह्नको एकाधिकारवादी हैकम तोडन नयाँ भाष्य सिर्जना गरेर पब्लिक डिस्कोर्स चलाउन जति विलम्ब गरियो त्यति नै नयाँ नयाँ सम्भावना र पात्रमाथि अत्याचार थोपरिने छ ।
चिह्नभन्दा चरित्र व्यक्तिको आनिबानी, स्वभाव उसको दृष्टिकोण विकास योजना, उद्देश्य र लक्ष्य यावत् सामाजिक चरित्र निर्णायक र अपरिहार्य हुनु पर्छ, तब मात्र सार्थक र गतिशील बन्छ प्रजातान्त्रिक प्रणाली । चुनाव चिह्नमा गरिने फजुल खर्च नियन्त्रण गर्न पनि स्थायी चुनाव चिह्न दिने व्यवस्था हटाउनु पर्छ ।
स्थायी चुनाव चिह्न हुँदा त्यस्तो चुनाव चिह्न सदाका लागि रहने हुँदा चुनाव चिह्न आकर्षक निर्माण गर्ने पर्चा पम्प्लेट धेरै र पछिसम्मका लागि बनाउँदा अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ । तसर्थ स्थायी चुनाव चिह्न, चुनाव चिह्नमा रहेको मोह र सौन्दर्य चेत बदल्ने तर्फ आगामी बहस मोडिनु पर्छ । सौन्दर्य सही विचार, चिन्तन, आचरण, नैतिकता अनि सामाजिक निष्ठा र निरन्तरतामा खोजिने दर्शनको विकास समयको माग हो ।
त्यसैले चिह्नमा होइन चरित्रमा, आवरणमा नभएर आचरणलाई प्राथामिकीकरण गरौँ । विवेक र विचारको सौन्दर्यापान गर्ने वातावरण सिर्जना गर्न नवीन भाष्यलाई केन्द्रमा राखौँ । कुनै पनि पार्टीको चुनाव चिह्नमा भन्दा उसको नीति राष्ट्रिय पोजिसन र त्यसलाई प्रवर्तन गर्ने नेताको व्यक्तित्व पारख गरेर निर्णयको लाहाछाप लगाउने नव संस्कृति सिर्जना गर्न लागि परौँ ।
चिह्न अस्थायी प्रयोजन मात्र हो चरित्र स्थायी व्यवहार अत एवं चरित्रप्रधान संस्कृति प्रवर्धनमा ध्यान पु¥यायौँ । विवेक बन्धक राखेर होइन स्वतन्त्र भएर निर्णय गरौँ । चुनाव चिह्न सदा एकै हुने परिपाटी त्याग्न बौद्धिक बहस आवश्यक छ । चित्रप्रधान होइन, चरित्र प्रधान समाज निर्माण गरौँ । कुनै पनि एकाधिकार अस्वीकार गर्ने सामाजिक चेतले पार्टीहरूको स्थायी वर्चस्वको चुनाव चिह्नबारे प्रश्न गर्नु अनैतिक, अव्यावहारिक र अपसंस्कृति पक्कै होइन । चिह्नको एकाधिकार आगामी विमर्शको प्रमुख एजेन्डा हो ।
लेखक त्रिविका अनुसन्धाता हुनुहुन्छ ।