डायस्पोराभित्र एक अवस्था र विषय मात्र अवस्थित हुँदैन । विश्वमा आएका युद्ध, दैविक प्राकृतिक प्रकोप, राजनीतिक, आर्थिक, सामाजिक आदि परिवर्तनले डायस्पोरा निर्माणमा तीव्रता दिएको छ । परम्परागत, वंशानुगत र प्राकृतिक आत्मीय सहजताबाट पृथक् रहेर नयाँ भूगोलमा त्यहाँको स्थापित विविधतामा आफूलाई सहभागी गराई अनेक चुनौतीको सामनाबाट परिष्कृत पहिचान र भविष्य निर्माण प्रक्रियालाई डायस्पोराको मान्यतामा परिभाषित गर्ने गरिन्छ । आफ्नो अंश र वंशको हकदाबीको प्राकृतिक अधिकारबाट फरक भूगोलको फरक संस्कार र नियम कानुनको परिधिभित्र क्रियाशील रहेर बस्नु डायस्पोरिक जीवन हो ।
समय क्रमले जिम्मेवारी, आकाङ्क्षा, अवसर र परिवर्तनलाई सकार्दै जानु पर्छ । जन्मपछि निर्वाहका कुराले क्रमिक माग वृद्धि गर्दै जान्छ । मिलन, बिछोड, सहकार्य र समापनका परिधि परिव्रmमाले गति लिँदै जाँदा भाव, भूमि, चरित्र जस्ता कुरा पनि परिवर्तन हुँदै जान्छन् । यस क्रममा परिवारको समस्या टार्न आफ्नो नागरिक हक लाग्ने भूगोलभन्दा बाहिर गएर समाधानका अवसरको खोजी गर्ने परम्पराबाट डायस्पोरा प्रारम्भ भएको हो । मूलतः डायस्पोरा शब्द ग्रिसेली भाषाबाट आएको हो । डायस्पोरा शब्दले मूल भूमि, भूगोल, भाषा, संस्कृतिबाट परादेशीय भूगोल, संस्कृति, भाषा, वातावरण आदि कुरामा अन्तरघुलित हुने अवस्थालाई जनाउँछ । यसको अर्थ पहिचानसहित निरन्तर टाढासम्म छरिनु भन्ने हो ।
डायस्पोराको स्थान, स्तर र समय अनुसारका शब्द प्रयोगमा आएका छन् । नेपाली भाषामा डायस्पोराभन्दा पूर्व नै मुग्लानी, प्रदेशी, लाहुरे, ब्रिटिसे, कालीपारे आदि शब्दले सम्बोधन गर्दै डायस्पोराको परम्परालाई बोक्दै, थेग्दै आएका छन् । मूल भूमि र भावबाट पूर्ण रूपमा विच्छेद हुन नसकिने अवस्थालाई ध्यानमा राखेर डायस्पोराको निकटमा अहिले आएर गैरआवासीय नागरिक भन्ने प्रचलन बलियो बन्दै गएको छ । आमआत्मासँग निकट जस्तो मानिने गैरआवासीय नागरिक शब्दले डायस्पोरासँग समान अर्थ र भाव राख्छ ।
यो सङ्गठनका रूपमा विस्तारित हुँदै छ । यसभित्रका कमजोरी, सङ्गठन विस्तार र नेतृत्वमा देखिने केही समस्याको निवारण भए यसको भूमिकाबाट पनि डायस्पोरिक जीवनको एक भरोसायोग्य संस्था बन्ने देखिन्छ । यसको स्वभाव र चरित्रको समानता डायस्पोराको सजातीय गुण नै हुन् । आफ्ना धर्म, भाषा, संस्कार, खानपिन, वेशभूषाको महìव र मोहलाई हृदयभित्र सुरक्षित राखी फरक परिवेशमा फरक मर्यादा पालना गर्दाको अवस्थामा डायस्पोरा शब्दभन्दा गैरआवासीय नागरिक शब्दले केही शीतलता प्रदान गरेको अनुभूति हुन्छ । शाब्दिक रूपमा प्रवास, आप्रवास, गैरआवासीय नागरिक र डायस्पोराका फरक फरक अर्थ लगाउन सकिए पनि सामान्य रूपमा आंशिक प्रवृत्ति र विशेषता समानताकै आधारमा आफू अनुकूल प्रगोगमा आएका छन् ।
डायस्पोराका प्रकारमा पनि भिन्नता निकै रहेको पाइन्छ । एकल, पारिवारिक, शैक्षिक, व्यावसायिक आदि । हरेक भूगोलका आफ्नै विशेषतामा नवआगन्तुकले त्यहाँको विधि स्वीकार्नुको विकल्प हुँदैन । विश्वमा कतै धर्म, कतै जाति, कतै खुला र उदार प्रकृतिका अधिकारले राज्य प्रणालीलाई मार्ग निर्देश गरेको हुन्छ । भूगोल विशेषका पृथक् मान्यताले निर्देशित गर्दै हामीलाई उपयोग गरिरहेको हुन्छ । शारीरिक र मानसिक सङ्घर्षका चपेटामा परेर पनि बौरिँदै चिन्ता र व्रिmयाशीलतालाई व्यवस्थापन गर्न क्रमिक रूपले अपेक्षान्मुख स्वतन्त्रताको खोजीमा लागेको हुन्छ ।
स्वतन्त्रता भनेको घोकेर वा प्रचार गरेर उपभोग गरिने वस्तु होइन । वर्तमान स्वतन्त्रताको विश्वव्यापी परिभाषाभन्दा समृद्ध र सुसंस्कृत तरिकाले स्वतन्त्र रहेर धेरै गुणा स्वतन्त्रताको उपभोग हामीले मूल भूमिमा नै गरिसकेका रहेछाँै । प्रचारित स्वतन्त्रताले नियन्त्रण, विग्रह, परनिर्भरता, द्वन्द्व जस्ता कुरालाई कतै कतै प्रश्रय दिएको पाइन्छ । भूगोल, संस्कार, संरचनालाई मूल भागमा राखेर त्यसको सीमाभित्र मौलिक प्रवर्धन र कुनै बाहिरी प्रभावको
प्रभुत्व कायम नहुने व्यावहारिक रूपले पुष्टि हुने स्वतन्त्रता नै स्वीकार्य स्वतन्त्रता हो । डायस्पोरामा रहँदा मूल भाव, भूमि र मौलिक भूमिका तथा स्वतन्त्रतालाई पूर्ण रूपमा अवलम्बन गर्न सकिने अवस्था रहँदैन ।
यति मात्र नभई संवेदना र हर्ष पनि दुई भूमिबिचको मोहले विभाजित अवस्थामा रहेका हुन्छन् । संवेदना, हर्ष, उत्साहलाई सामाजिक न्यायका आधारमा आदान प्रदान गर्न सक्ने सहजता प्राप्त गर्न सकिएको हुँदैन । सामान्य मुस्कान र सहज हार्दिकताभित्र लुकेका थुप्रै अघोषित प्रतिबन्ध सामान्य रूप र तहमा थाहा पाउन कठिन हुन्छ । स्वतन्त्रताका नाममा लगाइने निरङ्कुश कोर्राको पीडा पनि निकै थेगिएको हुन्छ । नवीनतामा घोलिएर स्वाभिमान जोगाउन पनि सहज छैन । रङ्गीन सुविधासम्पन्न जीवनशैलीले आफूलाई भुलाउन र अरूलाई लोभ्याउन जति सफल भए पनि पर्दाभित्रको भोगाइलाई भने कृत्रिम व्यवस्थापन गरिएको हुन्छ ।
कहिलेकाहीँ बौद्धिकता र आदर्शलाई राष्ट्रियता र स्वाभिमानले, राष्ट्रियता र स्वाभिमानलाई भावनाले, भावनालाई भावुकताले र यी सबै कुरालाई अभावले जित्दो रहेछ । त्यसैले त दैनिक हजारौँ युवा रुँदै देश छोडेर बाहिरिइरहेका छन् । उनीहरू पीडालाई सपनामा, जिम्मेवारीलाई परिश्रममा र अभावलाई समृद्धिमा बदल्ने उर्वर अठोटले विदेश लाग्छन् । अहिलेसम्म नेपाली युवा बाहिरिने र विदेशी भूमिमा श्रम पसिनाबाट आर्जन गरिएका कुरा सम्पत्तिका रूपमा भित्र्याउने र आपूm फर्केर आफ्नै मुलुकमा बाँकी जीवन निर्वाह गर्ने संस्कार जस्तै बनेको छ । वर्तमान अवस्थामा संवैधानिक जटिलताले तर्साउँदै जाँदा परम्परागत मनोविज्ञान परिवर्तन हुन सक्छ । युवा र मानवीय संसाधनको बहिर्गमन मात्र नभई नेपालबाट पुँजी पलायनको अवस्थामा बाढी आउन सक्ने सम्भावनाको सङ्केतलाई समयमै रोक्नु जरुरी देखिन्छ ।
संसारका विभिन्न मुलुकमा गएर हरेकले भोगेका फरक भोगाइ र सिकेका सिपबाट राष्ट्रिय, सामाजिक र व्यक्तिगत लाभमा कसरी रूपान्तरण हुने भन्ने कुराको नीतिगत व्यवस्था नहँुदासम्म यो छरपस्ट रूपमा स्वच्छन्द रहन्छ । त्यसले स्वउत्पादनमूलक वातावरण निर्माणभन्दा परनिर्भरतालाई प्रोत्साहित गरेको छ । जसले परम्परागत रोजगारीबाट निष्व्रिmय बनाई विलासितातर्फ प्रेरित गराउँछ । यसले भावी पुस्तालाई पनि अल्छी र आडम्बरी मनोविज्ञानको सामाजिक वातावरण निर्माण गर्छ । फलस्वरूप आफ्नो भविष्य स्वदेशमा नभई विदेशमा देख्ने सामाजिक प्रचलनलाई प्रभावकारी बनाउँछ ।
सपनाको संसारमा अवसर र जोखिम तुलनात्मक रूपमा समान जतिकै हुन्छन् । हरेक जोखिमबाट बचेर अवसरको निकटतामा टिकिरहन पनि उत्तिकै चुनौतीपूर्ण छ । सामूहिकताभन्दा निजी एकात्मक प्रवृत्तिले बढी महत्व पाउने विकसित वर्तमानलाई भोगिरहेका हामी मूल्य, विवेक र समयको परिणाममा भौतिक उपभोक्ता बनेका छौँ । जटिलतालाई सरलीकृत गर्न विज्ञानले दिएको सुविधा पनि बजार वितरण प्रणालीले सहज पहुँचको आधिकारिक अवसर प्रदान गरेको छ । वस्तु उपयोगिताले विलासितामा प्रवेश गराई अनिवार्यताका लागि वातावरणीय प्रभावमार्फत दबाब बढाएको पत्तै हुँदैन । समृद्ध मानव कल्याणको गुणात्मक प्रवृत्तिभित्र समेटिन नसकेका मूलभूत मानव कल्याणकारी सामाजिक व्यवस्थाका बारेमा पनि विशेष चिन्तन गर्नुपर्ने मौलिक विशेषतालाई वर्तमानले आमन्त्रण गरिरहेको छ ।
प्रचलित प्रणालीले व्यक्ति स्वच्छन्दतातर्फ प्रेरित गरिरहेको छ । फरक भूगोलको चेतनाप्रति द्विविधा निर्माण गरी विद्रुप स्वरूपलाई कृत्रिम रोगनले सुन्दरता प्रदान गर्दै असली चरित्रलाई उदारताको पर्दाले छोपेर दुनियाँलाई प्रलोभनमा पारेको छ । आफ्ना प्राकृतिक गुणलाई ओझेलमा पारेर धेरै कुरा नबुझेर नक्कल गरिएका हुन्छन् । केवल परिणाममा देखिने अरूको क्षतविक्षत अवस्थाबाट आफू सुरक्षित रहेको निष्कर्षबाट अस्थायी
रूपमा चतुर कुशलता प्रदर्शन गरिएको हुन्छ । आय आर्जन भोगचलन र निर्वाहका लागि गरिएको अभिनय आफूप्रति इमानदार बन्दा आफैँलाई चिलिरहेको हुन्छ । तìव आपूर्ति र मर्म भिन्नताका बिचमा सन्तुलन कायमका प्रयत्न युद्धस्तरमा गरिएका हुन्छन् ।
वस्तु अन्धताले उछालिएर बग्ने सौभाग्यको स्वयं र कल्पनामा डुबेर कुहिरोभित्र उड्ने प्रवृत्तिले विशेष गरी तेस्रो विश्वका नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ । सस्ता कामदारका रूपमा प्रयोग भएको वास्तविकतालाई वास्ता नगरी महँगा सपना बोकेर मृगतृष्णामा दौडिँदा त्यो दलदलबाट निस्किन जति कठिन छ, त्यो वास्तविकतालाई बुझ्न वा विश्वास गर्न भोक्ताबाहेक अरूलाई सहज छैन । सपनामा पनि दुःख हुन्छ भन्ने डायस्पोरिक जीवन निर्वाह गरिरहेको एक इमानदारले मात्र नलुकाई भन्न सक्छ । आफ्नै परिवारभित्र भेष, भाषा र भान्छा बचाउन कठिन बनेको अवस्थाबाट गुज्रिएको डायस्पोरिक जीवन पद्धतिले पहिचान निर्माण र अस्तित्व कायम गर्न कति समय सङ्घर्ष गर्नुपर्ने हो, कुनै समय सीमा छैन ।
मातृभूमि र कर्मभूमिको दोहोरो ऋणले भावना र भौतिक समयलाई प्रभावित बनाइरहेको हुन्छ । मातृभूमिलाई आमाको रूपमा र पितृ प्रसादका रूपमा स्वीकार गरेर जन्मभूमिमा फर्कनुलाई पुण्य प्राप्ति स्तरमा राखिएको हुन्छ । आफ्नो कुल, पितृ, देव देवल, शिक्षालय, बाल्यकाल र जवानी खर्चिएको भूमि जहाँ जन्मँदाको सालनाल र नाभी गाडिएको छ । त्यो भूमिलाई सदा
आफ्नो पूज्य पवित्र भूमि मानिन्छ । यस्तो अवस्थालाई कुनै सीमा, नियम र कानुनले रोक्न सक्दैन । यान्त्रिक जीवनमा तान्त्रिक विद्याले नियन्त्रण गरे जसरी मानसिक रूपमा मूल भूमिप्रति अनेक स्मरणका दृश्य निरन्तर घुमिरहेका हुन्छन् । मातृभूमिले आफ्नो कोखबाट टाढिँदा पनि सदा समान आशीर्वाद दिएकै हुन्छिन् । जो ममताका कारण हरेक पलमा मातृभूमिको मायाले प्रताडित अवस्थामा फरक माटोमा रहनेको आगमनलाई प्रतीक्षा गरिरहेको हुन्छ । आफ्ना कोखका सन्तान आफ्नै आँगनीमा खेलून् र रमाऊन् भन्ने मातृभूमिको मौनतालाई क्षितिजभन्दा क्षितिजपारिको मौनताले नियालिरहेको छ ।