• ७ वैशाख २०८१, शुक्रबार

हाम्रो सम्पदा

सिन्धुली ढुग्रेभन्ज्यांगमा अवस्थित भद्रकाली मन्दिर (फोटो फिचर)

blog

सिन्धुली, जेठ ६ गते । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ मा अवस्थित प्राचीन भद्रकाली मन्दिर भक्तजनहरूका लागि प्रख्यात बनेको छ । यो मन्दिर काठमाडौँबाट बी.पी. राजमार्ग हुँदै जाँदा ढुंग्रेभन्ज्याङको दाहिने तर्फको डाँडाको चुचुरोमा रहेको छ। जुन प्राकृतिक सम्पदाले भरिपूर्ण स्थल रहेको यस मन्दिरमा पुग्नको लागि राजमार्गबाट १५८ खुट्किला माथि उक्लिनु पर्छ।

नेपाली शैलीको यो मन्दिरको गर्भ गृहमा करिब १.५ फिट अग्लो कालो प्रस्तरको शीला मूर्ति रहेको छ। उक्त शीलालाई तामाको छत्र ओढाइएको प्रतीकलाई नै भद्रकाली देवी मानी भक्तजनहरू पूजा अर्चना गर्दछन्।

वि.सं. १९८८ सालमा चढाइएका घण्टहरू पनि यस मन्दिरमा रहेका छन्। यस मूर्ति प्राचिनकालमा आफै उत्पत्ति भएको किम्बदन्ती समेत रहेको छ। मूर्तिको उत्पत्ति सम्बन्धमा वि.सं. १८०० साल पूर्व भारी बोकी आवतजावत गर्ने एक भरियाले खाना पकाउन ढुंगा खोजेर ल्याई त्यही दबिएको ढुङ्गामा मिसाएर चुल्हो बनाएका थिए। त्यस चुल्होमा खाना पकाउन भाँडा बसाल्दा भाडा ढलेछ। त्यसै गरी पटक पटक भाडा ढलेपछि रिसले चुर भएका भरियाले उक्त ढुङ्गालाई खुकुरी प्रहार गर्दा उक्त ढुङ्गाबाट रगत बगेको देखेपछि भरिया खाना नपकाई आफ्नो गन्तव्य तिर लागेको अग्रजहरूको भनाई छ । सोही रात भरियाले सपनामा भद्रकाली आएर “म भद्रकाली हुँ” मलाई चिन्न सकिनस्, मलाई खुकुरी प्रहार गरी घाइते बनाइस्, त्यस कारण “त र तेरा सम्पूर्ण परिवारले रगत छादेर मर्नु परोस्”  भनी सराप दिई देवी अलप भइन। भरिया बडो चिन्तित भएर यस कुरा गाउँलेहरूलाई सुनाएछन्।

यस्तो सुनेपछि वि.सं. १८०० पूर्व पुर्खाहरूले घटनास्थलमा गई हेर्दा एउटा डुङ्गाको पछाडि पट्टी काटिएको र केही रगतका टाटा देखेपछि तत्कालै स्थानीयहरूले क्षमा याचना मागी पौराणिक संस्कृतिअनुसार तान्त्रिक विद्या जान्ने धामीझाँक्री बोलाएर भद्रकाली स्वयं धामी झाँक्रीको शरीरमा प्रवेश भई आफ्नो इतिबृतान्त भने पश्चात् स्थानीयवासिन्दाहरुले सम्मानका साथ भद्रकालीको रूपमा उत्पत्ति शिला मूर्तिलाई विधिअनुसार आराधना गरी चारैतिर सुख्खा डुङ्गाको गारो लगाएर देवी स्थापना गरी दैनिक विधि अनुसार पूजा अर्चना गर्ने व्यवस्था मिलाएको किम्बदन्ती रहेको छ।

अहिले पनि भद्रकालीको शिला मूर्तिको दाँयातर्फ १२ इन्च, बाँयातर्फ १० इन्च काटिएको दाग प्रस्ट देख्न सकिन्छ।

पुरातन भद्रकाली मन्दिरलाई गोर्खालीकी भगवती मनकामना माताकी बहिनी भनेर पनि विभिन्न लेखहरूमा पाइएकोले १८ औँ शताब्दीमा गोर्खाका सिपाहीहरू र बेलायती सेनाहरू बिचको लडाइँमा विजय प्राप्त होस भनेर राजा पृथ्वीनारायण शाहले मनकामनादेवीको प्रतीक मानेर भद्रकालीको मन्दिर स्थापना गरेका थिए भन्ने पनि रहेको छ। यो मन्दिरप्रतिको आस्था खासगरि मनोकामना पुरा हुने भन्ने पनि  छ।

वि स २०१० सालदेखि वि स २०१२ सालसम्म पूर्व २ नम्बर सिन्धुलीगढीको सरकारी कार्यालयबाट सलामी पूजा, पन्चाली पूजा गरिन्थ्यो। यस मन्दिर परिसरमा विभिन्न देव देवताहरूका मूर्ति रहनुको साथै मन्दिर भित्र बलि दिइँदैन। बलि दिनको लागि मन्दिर अगाडी छुटटै स्थान रहेको छ।

यस मन्दिरको चुचुरोबाट ऐतिहासिक स्थल सिन्धुलगढीको डाँडाको दृश्य बडो मनोरम देखिन्छ। यस मन्दिरको सम्भार र संरक्षणका लागि ११ सदस्यीय श्री भद्रकाली मन्दिर सम्भार समिति समेत गठन गरिएको छ।