• १३ मंसिर २०८१, बिहिबार

कुशासन र दण्डहीनता विरुद्ध अभियान

blog

रमेश विश्वकर्मा

गुल्मी, जेठ ५ गते । मानव अधिकार तथा शान्ति समाज, गुल्मीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् । कुशासन र दण्डहीनता विरुद्ध अभियान सञ्चालन गरेको समाजले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्न माग गर्दै धर्ना दिएका हुन् । 

सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर्न, मानव अधिकार मैत्री ऐन बनाइ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन समाजले माग गरेको हो । भ्रष्टाचार हटाउ लोकतन्त्र बचाउ, मानव अधिकार मैत्री ऐन बनाउ, नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मिता माथि घात हो । नक्कली भुटानी शरणार्थी प्रकणका मूल दोषीलाई कारबाही गर, लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु कुशासन र दण्डहीनता हो, शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर, भष्ट्रचारको धमिराले देश खोक्रो भइसक्यो लगायतका नारा लेखिएको प्ले कार्डसहित धर्ना दिइएको थियो । 

यसै अवसरमा सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले भ्रष्टाचार विरुद्ध सबै एकजुट भएर आम नागरिकलाई आवद्ध बनाएर उभिने बेला आएको बताउनुभयो । उहाँले निर्दोष नफसोस र दोषि नछुटोस भन्दै मानव तस्करहरूलाई उम्कन दिन नहुने बताउनुभयो । 

नागरिक समाजका जिल्ला अध्यक्ष पदमप्रसाद पाण्डेले सुशासनमुलक समाज निर्माणका लागि भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियानमा एकाकार आम नागरिकहरुलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, "भष्ट्रचारीहरुलाई आम नागरिकहरूले कारबाही गर्ने र सडकमै नङ्गाउने अवस्था नआओस् ।" उहाँले सो अभियानमा नागरिक समाजको तर्फबाट ऐक्यबद्धतासमेत जनाउनुभयो । 

नागरिक समाजका अध्यक्ष गुणानिधी शर्माले न्यायपूर्ण समाज निर्माणका लागि विश्वस्त भएर जनताले विश्वास गरेर हाई प्रोफाइलमा पुर्याएका व्यक्तिहरु राज्यको दोहन गरी मानव तस्करी र कृत्रिम धन आर्जनमा लागेका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक छवि बनाएको आरोप लगाउनुभयो । 

मानव अधिकार तथा शान्ति समाज गुल्मीका सभापति ढुण्डिराज पोखरेलले सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमको स्वागत गर्दै भ्रष्टाचार अनुसन्धानको प्रक्रियालाई ढिलासुस्ती हुन नदिन माग गर्नुभयो । उहाँले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको बताउँदै भन्नुभयो, "शीर्ष नेताहरुको बाक्लो भेटघाटले अनुसन्धानलाई प्रभावित नगरोस्।" 

पोखरेलले भ्रष्टाचारीलाई लखेट्ने अभियानमा लाग्नसमेत आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, "दोषीलाई कारबाही गर्ने अभियान दरिलो रुपमा अघि बढोस् ।" सरकार देशमा क्यान्सरको रुपमा रहेको भ्रष्टाचारका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन नसके निकट भविष्यमा जनताको आक्रोश र जनक्रान्तिलाई तोड्न नसक्ने दाबी गर्नुभयो ।