• १२ मंसिर २०८१, बुधबार

भेरी अस्पतालमा बिरामी बढे

blog

न्यूरो सेवाका बारेमा जानकारी गराउँदै डा. कार्की र डा. गौतम । तस्विर : सिराज खान । नेपालगञ्ज

सिराज खान

नेपालगञ्ज, जेठ ५ गते । भेरी अस्पतालमा न्यूरो रोग सम्बन्धीका बिरामी बढ्न थालेका छन् । विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालमा कन्सल्टेन्ट न्यूरो सर्जनद्धय डा.अञ्जन सिंह कार्की र डा.सुबोध गौतमले सेवा दिन थालेपछि अहिले दैनिक ४० जना बिरामीले ओपिडीमा सेवा लिइरहेको बताउनुभयो । उहाँले यहाँ सेवा सुचारु गरिएपछि स्थानीय निजी अस्पताल वा अन्य ठाउँका अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउनुपर्ने बिरामीको बाध्यता अन्त्य हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो । श्रेष्ठका अनुसार अहिले यहाँ न्यूरोका लागि स्तरीय उपकरण थप भएका छन् । धमाधम शल्यक्रिया पनि भइरहेको छ । पछिल्लो पटक न्यूरो सेवाका लागि यहाँ ड्रिलसेट उपकरण समेत जडान गरिएको छ । 

न्यूरो सेवा सुचारु गरिएपछि अहिले भेरी अस्पतालमा दैनिक न्यूरोका बिरामी बढ्दै छन् । दैनिक ४० देखि ५० जना बिरामीले ओपिडीमा सेवा लिने गरेको र सातामा सातआठ वटा शल्यक्रिया समेत हुने गरेको जनाइएको छ । 

भेरी अस्पतालका न्युरो सर्जन डा.अञ्जनसिंह काकीले भन्नुभयो, "भेरीको न्यूरो सेवालाई स्तरीय र गुणस्तरीय बनाउने प्रयासमा न्यूरो विभागको टिम सक्रिय छ, अब शल्यक्रियाका लागि अन्यत्र जानु पर्ने अवस्था छैन ।" उहाँले टाउकोमा रगत जमेका, मस्तिष्क घात भएका बिरामीको शल्यक्रिया धमाधम भइरहेको जनाउँदै अधिकांश शल्यक्रिया सफल हुने गरेको पनि बताउनुभयो । 

भेरी अस्पतालका अर्का न्यूरो सर्जन डा.सुबोध गौतमले अहिले भेरीको न्यूरो सेवा प्रभावकारी र स्तरीय बन्दै गएको जनाउँदै यस क्षेत्रका न्यूरोका बिरामीहरूलाई ठूलो राहत भएको बताउनुभयो । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा न्यूरो सेवा सुरु गरिएपछि निम्न आयस्तर भएका बिरामीलाई सबैभन्दा बढी लाभ पुगेको छ । निजी अस्पतालको तुलनामा सरकारी अस्पताल भेरीमा करिब चौगुणा कम मूल्यमा न्युरो सम्बन्धी शल्यक्रिया भइरहेको छ । 

भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले मस्तिष्कघात, टाउकोमा रगत जमेको, ब्रेन ट्युमर, स्पाइनल ट्युमरलगायतको उपचार तथा शल्यक्रियाका लागि अब भारत तथा काठमाडौं लगायतका सहरमा जानुपर्ने अवस्था नरहेको बताउनुभयो ।