• ७ वैशाख २०८१, शुक्रबार

छैटौँ नेपाल-अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक सुरु

blog

काठमाडौं, जेठ ५ गते । छैटौँ नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ सुरु भएको छ । बैठक आज (शुक्रबार) बाट काठमाडौंको एक होटलमा सुरु भएको हो ।

बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षीय सम्बन्धलाई लगानीमा पनि थप विस्तार गर्ने योजना बनाएको छ ।बैठकका बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई लगानीको रूपमा रूपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रूपमा रूपान्तरण गर्न बैठक बसेको बताउनुभयो ।

सचिव मरासिनीले बैठकका लागि १८ सदस्यीय टोली नेपाल आएको पनि जानकारी दिनुभयो । उहाँले नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवर्द्धन गर्ने बैठकको लक्ष्य रहेको बताउनुभयो । बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित रहने उहाँको भनाइ छ ।

‘‘अमेरिका र नेपालबीच लामो सम्बन्ध छ, यो द्विपक्षीय सम्बन्धलाई लगानीको रूपमा रूपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रूपमा रूपान्तरण गर्न नेपाल र अमेरिकाबीचको एउटा नेपाल अकेरिका ट्रेड इन्भेष्टमेण्ट एग्रिमेण्ट भन्ने गरेको हो ।,’’ मन्त्रालयका सचिव मरासिनीले भन्नुभयो, ‘‘१८ जनाको टोली अमेरिकाबाट आउनुभएको छ । नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवर्द्धन गर्ने र हाम्रो उदार अर्थतन्त्र छ, जुन अहिले आवश्यक लगानीको आवश्यकता छ, प्रविधि हस्तान्तरण होस्, नलेज हस्तान्तरण होस् भन्ने अपेक्षा छ, त्यसमा छलफल गर्नेछौँ, अमेरिकी लगानी भित्र्याउने, नेपाली सामान अमेरिका निर्यात गर्ने बारेमा हामी छलफल गर्नेछौँ, सम्भावना र समस्याको खोजी गर्ने माध्यम बनेको छ ।’’

उहाँले बैठक सम्भावना र समस्याको खोजी गर्ने माध्यम बनेको बताउनुहुँदै यसले व्यापारका क्षेत्रहरू पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरूका बारेमा पनि छलफल गर्ने बताउनुभयो ।

सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसाबले लगानी भित्र्याउन खोजेको बताउनु भयो । उहाँले अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गर्नुभयो ।

सचिव मरासिनीले भन्नुभयो, ‘‘यसले व्यापारका क्षेत्रहरू पहिचान गर्ने र निकासीका वस्तुहरूका बारेमा पनि छलफल हुनेछ । आवश्यकता अनुसार नीति नियममा सुधार गरेर नेपाललाई सहयोग गरेर जानुहुनेछ । हामीले दिगो विकासका हिसाबले खोजेको लगानी हो । अमेरिकाले पनि एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको छ ।’’

बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी हुनुहुन्थ्यो । उहाँले बैठकमा सम्बोधन गर्नुहुँदै नेपालले अमेरिकाबाट दिगो विकाससहितको लगानी खोजेको र नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहँदा विदेशी लगानीका लागि सहज भइरहेको बताउनुभयो ।