• २७ पुस २०८१, शनिबार

काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण अभियान सुरु

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, जेठ ५ गते । सरकारले काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान सुरु गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सुरु गरिएको यो अभियान काभ्रेपलाञ्चोकमा परीक्षणका रूपमा लागू गरिएको हो । यो अभियान सफल भए अन्य जिल्लामा विस्तार गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ । 

‘उच्च उक्तचाप हेरचाह व्यवस्थापन पहल’ (हाइपरटेन्सन केस मेनेजमेन्ट इनिसिएटिभ) नाम दिएर बुधबार धुलिखेलमा कार्यव्रmम आयोजना गरी सुरु गरिएको यो अभियानमा विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्थानीय तहलगायतका सङ्घसंस्थाको सहकार्य रहेको छ । 

सरकारले सन् २०२५ सम्म नेपालमा रहेका करिब १५ लाख उच्च रक्तचापका बिरामीको पहिचान तथा उपचार गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको नसर्ने रोग महाशाखाका निमित्त निर्देशक फणीन्द्रप्रसाद बरालले सरकारले सन् २०२५ सम्म देशभित्र रहेका १५ लाख उच्च रक्तचापका बिरामीको पहिचान गरी उपचार गर्ने लक्ष्य लिएको बताउनुभयो ।

विश्व उच्च रक्तचाप दिवसका अवसरमा बुधबार धुलिखेलमा आयोजित कार्यक्रममा उहाँले नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी रहेका र त्यसमध्ये हाल करिब दुई लाख बिरामीले मात्रै राम्रो उपचार पाइरहेको जानकारी दिनुभयो । विश्वमा एक वर्षमा करिब ९४ लाख जनाको उच्च रक्तचापका कारण मृत्यु हुने गरेको उहाँले बताउनुभयो । 

काभ्रेपलाञ्चोक जिल्लालाई उच्च रक्तचाप र मधुमेह रोगी नभएको जिल्लाका रूपमा घोषणा गर्नका लागि कार्यव्रmम सुरु गरिएको छ । उक्त कार्यव्रmम अन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहमा रहेका उच्च रक्तचापका बिरामी पहिचान गरी उनीहरूलाई निःशुल्क रूपमा औषधि प्रदान गरिनेछ ।

उच्च रक्तचापका बिरामीको उपचारका लागि औषधि सेवन कति समय र कसरी प्रयोग गर्ने भन्ने विषयको प्रोटोकल तयार गरिएको निमित्त निर्देशक बरालले बताउनुभयो । उहाँले जिल्लामा रहेका उच्च रक्तचापका बिरामीको पहिचान तथा उपचार गरी नमुना जिल्ला बनाउने मन्त्रालयको लक्ष्य रहेको बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले मन्त्रालयले काभ्रेपलाञ्चोकलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोक जिल्लामा नेपालमै पहिलो पटक उच्च रक्तचापका बिरामीको पहिचान तथा उपचारका लागि कार्यव्रmम सुरु गरेको बताउनुभयो । 

कार्यव्रmममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले सबैको सहयोगमा मात्रै जिल्लामा रहेका उच्च रक्तचापका बिरामीको पहिचान तथा उपचार गर्न सकिने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता रहेकाले आआफ्ना क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा बागमती प्रदेशका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले काभ्रेपलाञ्चोकमा सञ्चालन भएको हाइपरटेन्सन केस मेनेजमेन्ट इनिसिएटिभ कार्यव्रmमबारे जानकारी दिनुभएको थियो । 

जिल्लामा करिब ५१ हजार २८१ उच्च रक्तचापका बिरामी रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाले सन् २०२५ सम्म करिब ३० हजार उच्च रक्तचापका बिरामीको व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । कार्यालयले जिल्लाको बनेपामा सबैभन्दा बढी नौ हजार ४८२ जना उच्च रक्तचापका बिरामी रहेको अनुमान गरेको छ । 

यस्तै पनौती नगरपालिकामा सात हजार ३२२ जना, पाँचखाल नगरपालिकामा पाँच हजार ३९१, धुलिखेल नगरपालिकामा पाँच हजार ७३, मण्डनदेउपुर नगरपालिकामा चार हजार ३७०, नमोबुद्ध नगरपालिकामा तीन हजार ६७६ जना उच्च रक्तचापका बिरामी रहेको अनुमान गरिएको छ । 

उच्च रक्तचापका बिरामीमध्ये रोसी गाउँपालिकामा तीन हजार २९९ जना, तेमाल गाउँपालिकामा दुई हजार ३६४, महाभारत गाउँपालिकामा दुई हजार २७७, भुम्लु गाउँपालिकामा दुई हजार २२४, बेथानचोक गाउँपालिकामा दुई हजार एक सय, चौँरीदेउराली गाउँपालिकामा एक हजार ९६७ र खानीखोला गाउँपालिकामा एक हजार ७४६ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको अनुमान छ ।