• १३ मंसिर २०८१, बिहिबार

अनागरिक बनाउनु जघन्य अपराध : एमाले नेता ज्ञवाली

blog

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली । तस्विर: सन्तोष सुवेदी

सन्तोष सुुवेदी

कास्की, जेठ ४ गते । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचार र मानव बेचबिखनको कोही पनि दोषी उम्कन नहुने बताउनुभएको छ । उहाँले कुनै व्यक्ति मन परेन भनेर जबरजस्ती तान्न खोज्ने या मेरो मान्छे परो भनेर संरक्षण गर्न खोज्ने कुनै पनि गतिविधिहरू स्वकार्य नहुने बताउनुभयो । 

प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले आफ्ना नागरिकलाई अनागरिक बनाउनु जघन्य अपराध भएको बताउनुभएको हो ।

‘‘यो देशप्रतिको घात हो । यसमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन सकिन्न । प्रहरीले गरेको अनुसन्धान निष्कर्षमा पुग्नको लागि सबै पक्षले आवश्यक सहयोग गर्न जरुरी छ ।’’ उहाँले भन्नुभयो । 

उहाँले नेपालमा अहिले भ्रष्टाचार डरलाग्दो रोगको रूपमा अगाडि आएको बताउनुभयो ।

‘‘यसले हाम्रो सिस्टमलाई कोल्याप्स गर्छ कि, विश्वास टुटाउँछ कि भन्ने स्थिति देखा परेको छ । यस्ता कुराले जनताप्रति असन्तुष्टि, आक्रोश देखा परेको छ । यसले समाज अराजकतातिर जान सक्ने जोखिम देखिएको छ ।’’ ज्ञवालीले मुलुक जटिल मोडमा आएको प्रति चिन्तित बनेको व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा आएको र राजस्व लक्ष्यको आधामात्रै उठेको सुनाउनुभयो । 

उहाँका अनुसार गत वर्षको तुलनामा १४ प्रतिशत राजस्व कम छ र पहिलो पटक राजस्वले सरकारको दैनिकी खर्च धान्न नसक्ने अवस्थामा मुलुक पुगेको छ ।

‘‘यस्तो स्थिति त कोरोना, नाकाबन्दीको समयमा पनि थिएन । विकास निर्माण ठप्प छ । व्यवसायी हत्तोउत्साही बनेका छन् । यसबाट मुलुकलाई बचाउन पर्ने देखिएको छ,’’ उहाँले भन्नुभयो । 

उहाँले गठबन्धनको सरकारले मुलुकलाई ध्वस्त पार्ने काम गरेको आरोप लगाउनुभयो । गठबन्धनलाई सत्ता साधनको दोहनको माध्यम बनाउँदा त्यसको असर मुलुकमा परेको उहाँको भनाइ थियो । साथै, उहाँले एमाले पार्टी म्याराथनमा दौडिरहेको हुनाले कुनै लिगमा पछाडि पर्दैमा नआत्तिने जिकिर गर्नुभयो ।

‘‘हामी म्याराथनमा छौँ । कुनै कुनै लेगमा पछाडि पर्‍यौँ भने ठुलो कुरा ठान्दैनौँ । किन हामी त ०६४ सालमा त्यो आँधी तुफान पनि व्यहोरेर आएका हौँ ।

तत्कालीन माओवादीको २४० मध्ये १२० सिट, एमाले खुम्चिएर ३३ सिट । हाम्रा कतिपय नेताहरू एमालेको भविष्य छैन त्यही लगेर बिसाइदिऊ भन्ने ठाउँमा हुँदाखेरि धुलो टकटक्याएर उठेका हौँ’’ उहाँले भन्नुभयो ।