म्याग्दी, जेठ ४ गते । हिमालपारिको जिल्ला मुस्ताङ देखि चल्ने लामो दूरीको यातायातका साधनमा बिहीबारदेखि लागू हुने गरिएको नयाँ भाडादर कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङमा प्रमुख जिल्ला अधिकारी अनुप केसीको अध्यक्षतामा यातायात व्यवसायीहरू, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाको बैठकले सदरमुकाम जोमसोम देखि पोखराको भाडा साबिकको भाडामा २० प्रतिशत घटाउने सहमति भएको हो । त्यस्तै जोमसोमदेखि काठमाडौंको भाडामा १३ दशमलव ०४ प्रतिशत भाडा घटाइएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । नयाँ कायम भएको भाडा दर अनुसार जोमसोम–पोखरा एक हजार २ सय र जोमसोम–काठमाडौं यात्राका लागि २ हजार कायम भएको छ ।
यसअघि जोमसोम–पोखरा यात्राका लागि एक हजार पाँच सय तथा जोमसोम–काठमाडौं यात्राका लागि दुई हजार तीन सय भाडा रहेको थियो । जोमसोम–पोखरा तथा जोमसोम काठमाडौं दुवै दुरीमा तीन सय रुपियाँका दरले भाडा घटेको हो ।
हाल मुस्ताङ देखि बाहिर चल्ने चार वटा यातायात कम्पनीका प्रतिनिधिहरूले आफ्नो समस्या समेत राखेको प्रजिअ केसीको भनाई छ । उहाँले भन्नुभयो–‘व्यक्तिगत रूपमा प्रयोग हुने रातो प्लेटको सवारी साधनले पटक–पटक यात्रु ओसारपसार गरेको र यसले लामो दूरीका यातायात व्यवसायीलाई मर्का परेको व्यवसायीले गुनासो राख्नुभयो ।’
सर्वपक्षीय बैठकमा यात्रुहरूबाट बिचौलियाले कमिसन लिने गरेको गुनासो सुनिएकोले त्यसलाई कडाइका साथ निगरानी गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । यात्रुको टिकट बुक गर्नेहरूले नै धेरै कमिसन माग्ने गरेको यातायात व्यवसायीबाट गुनासो आएकोले अब त्यस्ता कार्य भएमा आफूहरूलाई जानकारी दिएमा उचित कानुनी कारबाही प्रक्रिया अगाडी बढाउने उहाँले बताउनुभयो ।