• ७ वैशाख २०८१, शुक्रबार

संस्कृति संरक्षणप्रति युवाको आकर्षण

blog

राधा लुइटेल

फिदिम, जेठ ४ गते । जिल्लास्थित लिम्बू समुदायका युवा पुस्ता संस्कृति संरक्षण गर्न उत्साहित देखिएका छन् । विभिन्न स्थानीय तह र सामाजिक सङ्घ संस्थाले संस्कृति संरक्षणका लागि कार्यव्रmम सञ्चालनमार्फत यसतर्फ आकर्षित भएका हुन् ।

फिदिम, फाल्गुननन्द, फालेलुङ र हिहिहाङ गाउँपालिकाले यहाँ बहुल सङ्ख्यामा रहेका लिम्बू, राई र तामाङसहित विभिन्न जात जातिमा आधारित नृत्य र वेशभूषा संरक्षणका लागि कार्यव्रmम सञ्चालन गरेको छ ।

पछिल्लो पटक फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित च्याबु्रङ (केलाङ) प्रशिक्षणमा मात्रै ६० जना सहभागी भएको आयोजक नामसामी केसामी केलाङ समूहका अध्यक्ष यामप्रसाद नेम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार यो तालिममा फाल्गुनन्दका सातवटै वडाका किशोरकिशोरी र युवा  सहभागी थिए ।

यसअघि फिदिम नगरपालिका–१ को आर्थिक सहयोगमा सञ्चालन भएको केलाङ प्रशिक्षणमा ५१ जनाको सहभागिता थियो । “प्रशिक्षण लिएकामध्ये आधाजसो सहभागी नियमित नाच्छन,” केलाङ प्रशिक्षक जोनहाङ केरुङ भन्नुहुन्छ । लिम्बूसँगै राई समुदायका किशोरकिशोरी र युवकयुवती पनि आफ्ना संकृतिमा आधारित साकेला नृत्यको जगेर्नामा उद्यत छन् । 

“स्रोतसाधन र प्रविधिको अभावमा पहिलेका बूढापाकाले जानेको कुरा नयाँ पुस्तालाई सिकाउन कठिन थियो, अहिले प्रविधिको प्रयोगले केही सजिलो भएको छ,” केलाङ प्रशिक्षक यामप्रसाद नेम्बाङ भन्नुहुन्छ ।

आफ्नो संस्कार, संस्कृति, लिपि, भाषा र धर्मलाई जीवन्त राख्नुपर्छ भन्ने बुझेपछि आफूले केलाङ प्रशिक्षणसँगै सिलाम साक्मा बनाउन सिकेको फालेलुङ–६ का युवक मौसम जवेगुले बताउनुभयो ।

प्रशिक्षणमा सिकेका हरेक कलालाई आवश्यकता अनुसार प्रस्तुत गर्न सक्ने क्षमता विकास भएकाले प्रशिक्षण प्रभावकारी ठहरिएको उहाँले बताउनुभयो ।