• ८ वैशाख २०८१, शनिबार

टर्मिनल क्षेत्रमा बस होल्ड

blog

रङ्गेली समाचारदाता

विराटनगर, जेठ ४ गते । विराटनगरस्थित बस टर्मिनल परिसरमा यात्रुवाहक सवारी ‘होल्ड’ गर्दा  व्यवस्थापनमा समस्या परेको गुनासो छ । नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माण गरेको बस टर्मिनलमा सवारी पार्किङ गरिदाँ दैनिक व्यवस्थापनमा समस्या परेको हो । 

सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालित बस टर्मिनलमा टोल विकास संस्था, बस व्यवसायी सङ्घ, मजदुर सङ्घ र सङ्गठनका प्रतिनिधि सम्मिलित १५ सदस्यीय व्यवस्थापन समिति रहेको छ । समितिका अध्यक्ष पदम श्रेष्ठका अनुसार महानगरपालिकासँग २०७५ चैत १ गतेदेखि पाँच वर्षको सम्झौताका आधारमा टर्मिनल व्यवस्थापन गरिँदै आएको हो । 

समितिले मासिक छ लाख ९४ हजार ७२५ रुपियाँमा ठेक्का लिएको हो । एक बिघा १२ कट्ठा क्षेत्रफलमा फैलिएको टर्मिनल क्षेत्रबाट दैनिक ३५० यात्रुवाहक सवारी लामो तथा छोटो दूरीका लागि गन्तव्यतर्फ निस्कने गरेका छन् । टर्मिनल शुल्कका रूपमा ठुला सवारीसँग ११० र साना सवारीसँग ८० रुपियाँ लिने गरिएको    छ । 

टर्मिनल क्षेत्रमा दैनिक ४० वटा बस होल्ड हुँदै आएका छन् । रात्रिकालीन र लामो दुरीका बसहरू टर्मिनल परिसरमा सात दिनसम्म पार्किङ गरेर राखिँदा दैनिक व्यवस्थापनमा समस्या परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बसपार्क नहुँदा टर्मिनल क्षेत्रमा होल्ड भएका सवारीले दैनिक छुट्ने सवारी व्यवस्थापनमा समस्या परेको हो । प्रदेश राजधानी विराटनगरमा नयाँ बसपार्क व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहे पनि सरोकारवालाको चासो देखिएको छैन । बसहरू पार्किङ गरेर राखिने र टर्मिनलबाट छुट्ने स्थितिको निर्माणका लागि समयमै सोच्नुपर्ने अवस्था आइसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बस टर्मिनल क्षेत्रमा बनाइएको बस ट्र्याकसमेत सानो हुँदा त्यसको असर रनवेमा जाम हुने गरेको छ । 

केही वर्षअघि नयाँ बसपार्क निर्माणको चर्चा चलेको थियो । त्यस बखत बूढीगङ्गा गाउँपालिकामा बसपार्क बनाउने चर्चा चले पनि व्यवसायीको राय भने फरक छ । बस टर्मिनल क्षेत्रभन्दा उत्तरतर्फ बसपार्क बनाउँदा यात्रुदेखि सवारीचालकसम्मलाई हैरानी हुने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । अहिले भइरहेको बस टर्मिनल क्षेत्रदेखि दक्षिणवर्ती रानी इलाकामा बसपार्क व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

विराटनगरमा सुविधासम्पन्न टर्मिनल क्षेत्रमा १४ वटा सिसी क्यामरा जडान गरिएको छ । टर्मिनल भवनबाट व्यवस्थापन समितिले सवारीहरूको निगरानी गर्दै आएका छन् । टर्मिनल भवनमा सात वटा टिकट काउन्टरसहित एउटा सटर भाडामा लगाइएको छ । माथिल्लो तलामा एउटा होटल र व्यवस्थापन समितिको कार्यालय रहेको छ । 

बसपार्क क्षेत्रमा अहिले नयाँ गार्ड टावर निर्माणको काम भइरहेको छ । कुल लागत १६ लाख रुपियाँमा फलामको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । जसमा महानगरपालिकाको ६० प्रतिशत र व्यवस्थापन समितिको ४० प्रतिशत लगानी रहने छ । कुल ३३ फिट अग्लो गार्ड टावरमा विश्वकर्माको मन्दिरसमेत राखिने छ ।