• ३१ वैशाख २०८१, सोमबार

इन्टरपोलको सय वर्ष यात्रामा नेपाल प्रहरीले सगरमाथाको चुचुरोमा फहरायो झन्डा

blog

नेपाल प्रहरीको तर्फबाट प्रतिनिधित्व गर्नुहुँदै इन्टरपोल र नेपाल प्रहरीको झन्डा सगरमाथाको चुचुरोमा फहराउनु हुँदै प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली । तस्बिर सौजन्य: नेपाल प्रहरी

काठमाडौँ, जेठ ४ गते । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सदस्यता प्राप्त गरेको १००औँ वर्ष पुगेको अवसरमा नेपाल प्रहरीले इन्टरपोल र नेपाल प्रहरीको झन्डा सगरमाथाको चुचुरोमा पुर्‍याएको छ । इन्टरपोलको सदस्यता नेपालले प्राप्त गरेको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले झन्डा चुचुरोमा फहराउन सफल भएका छन् । 

नेपालीले जेठ २ गते मङ्गलवार बिहान १०ः१५ बजे सगरमाथाको चुचुरोमा झन्डा पुर्‍याएका हुन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामना सहित उक्त झन्डाहरू हस्तान्तरण गरी नेपाली सहितको आरोहण दल वैशाख २ गते आधार शिविर तर्फ प्रस्थान गरेको थियो । 

पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका थिए ।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाइ अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ । 

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरूको आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यबद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।