• १० मंसिर २०८१, सोमबार

भेडीगोठ लेकतिर (फोटो फिचर)

blog

लेकाली क्षेत्र वैशाखे भेडीगोठमा रहेका भेडाहरु। तस्बिर: चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ३ गते। ताप्लेजुङमा यतिबेला भेडीगोठ लेकतिर सारिएको छ। जाडो छल्न बेँसी (औल) झारिएका भेडी गोठ गर्मी मौसमसँगै लेकतिर सारिएको हो। हिउँद मौसममा औल झारिएका भेडीगोठ वैशाख अन्तिम साताबाट लेक अर्थात् हिमाली क्षेत्रतर्फ सारिएको भेडापालक किसानले बताएका छन्।  

हिउँद समयमा हिमपात र जाडोबाट बचाउनलाई औलतिर झारिएका भेडी गोठ गर्मी बढ्न थालेपछि पुनः लेकतिर लगिएको हो। किसानका अनुसार गर्मी बढेपछि हिमाली क्षेत्रमा हिमपात नहुने साथै चिसो कम हुने हुँदा भेडीगोठ लेकतिर सारिएको हो। फुङ्लिङ नगरपालिका–११ फावाखोलाका भेडापालक किसान गोपाल विष्टले अहिले तीन हजारदेखि तीन हजार ५०० मिटरसम्म उचाइ रहेको लेक क्षेत्रमा भेठीगोठ सारिएको बताउनुभयो। 

गर्मी मौसम भेडाहरू औलमा बस्न नरुचाउने भएकाले गर्मी मौसम सुरु भएपछि गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको विष्टले बताउनुभयो। त्यस्तै जाडो बढ्न थालेपछि पनि भेडा वा पशुचौपायाहरु बेँसीतर्फ झर्न चाहने गरेको उहाँको भनाइ छ। 

गर्मी याममा बेँसीतिर अन्न बाली लगाउनाले चरन क्षेत्र साँगुरो हुने र घाँस पनि अभाव हुँदै जाने भएकाले भेडाहरू आफैँ लेकतिर जान खोज्ने गरेका फावाखोलाकै अर्का किसान प्रकाश विष्ट बताउनुहुन्छ। विष्टका अनुसार हिउँदमा अत्यधिक चिसो हुने हुँदा भेडा उच्च हिमाली क्षेत्रमा बस्न नरुचाउने गर्दछन् भने बढी गर्मीमा पनि बेँसीमा बस्न रुचाउँदैनन्। 

यसरी गर्मी मौसमसँगै भेडीगोठ यतिबेला फावाखोलाकै माथिल्लो क्षेत्र वैशाखे हुँदै हिमालतिर लैजान सुरु गरिएको छ। वैशाखे हुँदै मयाम खर्क, तापेथोक, हेल्लोक, सेखाथुम, जापानटार हुँदै करिब पाँच हजार मिटर उचाइ रहेको सिद्धि खर्कसम्म पुर्‍याउने गरिएको किसानले जनाएका छन्। सिद्धिखर्कतिर तीन महिना जति गोठ राखेर अन्यत्र सार्ने गरिएको किसानको भनाइ छ। 

हिजोआज हिमाली जिल्ला ताप्लेजुङमा भेडी गोठ भने सीमित मात्र रहेका छन्। फावाखोलाका विष्ट परिवार लगायतका केही किसानले मात्र परम्परागत पेसाको रूपमा रहेको भेडीगोठ व्यवसाय अँगाल्दै आएका छन्। पछिल्लो पुस्ताले गोठपालन पेसा नगर्ने गरेका र चरन क्षेत्रसमेत साँगुरिँदै गएका कारण भेडी गोठ पाल्ने चलन हराउँदै गएको स्थानीय बताउँछन्।

यता गोठपालन निक्कै गाह्रो पेसा भए पनि आम्दानी भने राम्रै हुने गरेको किसानको भनाइ छ। उनीहरूका अनुसार भेडाका पाठा–पाठी राम्रै मूल्यमा बिक्री हुने गरेको छ। राम्ररी सप्रेको एउटा पाठालाई १५ देखि २० हजार रुपियाँसम्म मूल्य पर्ने गरेको भेडापालक किसानले बताउने गरेका छन्। यस्तै भेडाको ऊन, घ्यूबाट पनि राम्रै आम्दानी हुने गरेको किसान गोपाल विष्टले बताउनुभयो।