• १३ मंसिर २०८१, बिहिबार

नवलपुरमा बसपार्क निर्माण कार्यले गति लिन सकेन

blog

फाइल फाेटाे

मीना कंडेल

कावासोती, जेठ ३ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कायम भएको आठ वर्ष बितिसके पनि बसपार्क निर्माण हुन सकेको छैन । केही पालिकाहरुले बसपार्क पार्किङका काम अघि बढाए पनि फितलो तयारीका कारण सवारी साधन सडकमै राख्नुपर्ने अवस्था छ ।  

जिल्लाको गैँडाकोटदेखि दाउन्नेसम्म पूर्वपश्चिम राजमार्गको ६९ किलोमिटर लम्बाई छ । हरेक पालिकामा समेत भित्री सडक सञ्जाल उत्तिकै छन् । जिल्लाभरको करिब १२ सय ६५ किलोमिटर सडकमा दैनिक करिब एक लाख ३० हजार ६४ सवारी गुड्छन् ।

नवलपुर जिल्लाको मात्रै नभई अन्य जिल्लाका सवारी साधन पनि चल्ने हुनाले चाप बढ्दै छ । दरबन्दी र जिल्लामा कार्यरत ट्राफिक मध्ये एक जनाको भागमा दुई हजार २०४ सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था छ । तर यस्ता सवारीका लागि जिल्लामा बसपार्क छैन । 

सवारी चालकको रुपमा २२ वर्षदेखि कमम गर्दै आउनुभएका देवचुलीका भिमदत्त सुवेदीले यस अवधिमा नवलपुरमा बसपार्क बन्न नसक्नु दुःखद् भएको बताउनुभयो । 

 लेकवेशी यातायात प्रालिका अध्यक्ष युवराज बस्यालले सडकमा बस राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले बसपार्क नहँुदा बस कहाँ पार्क गर्ने भन्ने मुल समस्या रहेको बताउनुभयो ।

यात्रुहरु कहाँ गएर बस चढ्ने, टिकट काट्ने भन्ने समस्या हुने बताउँदै सडकमा धेरै स्थानमा बस रोकेर यात्रु चढाउने र ओलार्ने गर्न परेको र यसले सबैलाई समस्या सिर्जना गरेको उहाँको भनाइ छ । 

गैँडाकोटको कालिगण्डकी चोक, देवचुलीको दलदले, कावासोतीको फलफुलचोक मध्यविन्दुको चोरमारालगायतका मुख्य स्थानमा समस्या रहेको यातायात व्यवसायी बताउँछन् । पसल, घर अगाडि र बाटोमा पार्किङ गर्दा गुनासो आउने गरेको उहाँले सुनाउनुभयो 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले व्यवस्थित बसपार्क नहुँदा ट्राफिक व्यवस्थापनमा समेत असहज भएको बताउनुभयो । बसपार्क भएमा ट्राफिक व्यवस्थापन र सवारी साधन सुरक्षित हुने पुरीले बताउनुभयो ।

राजमार्गसँगै जोडिएका पहाडी क्षेत्रका मुख्य चोक तथा नाकामा दिनहुँ सवारी चाप बढ्दो छ । बसपार्क नहुँदा सडक छेउमा नै हुने अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम उत्तिकै निम्त्याएको छ ।