• १२ साउन २०८१, शनिबार

कांग्रेस सहर केन्द्रित हुन थाल्योः प्रथम राष्ट्रपति यादव

blog

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव । फाइल फाेटाे

काठमाडाैँ, जेठ ३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहर केन्द्रित भएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोईराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भए पनि अहिले बिस्तारै हराउँदै गएको बताउनुभयो ।

उहाँले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताउनुभयो । उहाँले निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस शहर केन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोईरालाहरु गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो ।

पहिला केन्द्रीय समितिमा ३०/३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, आधालाई जिल्ला जिल्लामा खटाइदिएको कम्तिमा एउटामा दुई जना पुग्थे । अरु पार्टीका सदस्यहरु ग्रासरुट गरिरहेका छन् । तपाईंहरु यहाँ बसिरहनु हुन्छ ।’

प्रथम राष्ट्रपति यादवले अरु पार्टीहरुले मिसन ग्रासरुट गरिरहँदा काँग्रेस भने शहरमा मात्रै केन्द्रित भइरहेको बताउनुभयो ।