• २७ पुस २०८१, शनिबार

रत्न मन्दिर गणतन्त्र दिवसमा खुल्ने

blog

फाइल तस्विर

सन्तोष सुवेदी

कास्की, जेठ ३ गते । पोखराको रत्न मन्दिर र हिमा गृह गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते खुल्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लेकसाइडस्थित रत्नमन्दिरको अवलोकन गर्नुहुँदै जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर मन्दिर परिसर खुला गर्ने जानकारी दिनुभयो ।  

डेढ दशकदेखि बन्द रहेको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्न पोखराका स्थानीय व्यवसायीहरूले माग गर्दै आएका थिए । रत्नमन्दिर परिसर पर्यटकहरूका लागि पनि नयाँ गन्तव्य बन्ने विश्वास मुख्यमन्त्री पाण्डेले व्यक्त गर्नुभयो । 

यस्तै, मन्दिरको मुख्य भाग खुला गर्न भने प्राविधिक समस्या रहेको जानकारी नेपाल ट्रस्टले गराएको छ । त्यहाँभित्र के–कस्ता सामग्रीहरू छन् भन्ने बारेमा परिसरमा पुगेका सर्वसाधारण, पर्यटकहरूलाई मुख्य मन्दिर खुला गर्न सहज नहुँदासम्म अन्य कुनै माध्यमबाट मन्दिरभित्रको वस्तुस्थिति देखाउने व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।

रत्न मन्दिर पूर्व राजपरिवारका सदस्य पोखरा आउँदा बस्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रकी कान्छी श्रीमती रत्नको नामबाट नै दरबारको नाम राखिएको हो । वि.सं. २०१३ सालमा दरबारको निर्माण सुरु गरिएको थियो । तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह २०५८ जेठ १९ को दरबार हत्याकाण्डको रात तथा २०६२-६३ को दोस्रो जनआन्दोलन चरम उत्कर्षमा पुगेको समयमा पनि करिब तीन महिना रत्न मन्दिरमा नै बस्नुभएको थियो । 

नेपाल ट्रष्टको नाममा पोखरा क्षेत्रमा हाल एक सय ७४ रोपनी छ । रत्न मन्दिरले भने एक सय ११ रोपनी ओगटेको छ । यसभित्र नेपाली सेनाको भगवती दल गण छन् ।