• १६ चैत २०८०, शुक्रबार

बिर्तामोडमा ५१ करोड २९ लाख लागतमा नमुना सडक निर्माण हुँदै

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ ३ गते । 
विश्व बैङ्कको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपियाँको लागतमा झापाको बिर्तामोड नगरपालिकामा नमुना सडक निर्माण सुरु भएको छ । नगरपालिकाको नगर गौरवको आयोजनाका रूपमा स्वीकृत भएको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नतिसहितको नमुना सडक बन्न लागेको हो ।

६ दशमलव २ किलोमिटर लम्बाइ रहेको सडक स्तरोन्नतिको कामको शिलान्यास नगरपालिका प्रमुख पवित्रादेवी महतराले गर्नु भएको हो । नगर गौरवको आयोजनाका रूपमा रहेको सडक निर्माणको काम केही समय अघि नै हुनुपर्ने भए पनि विभिन्न प्राविधिक कारणले रोकिएको र अब नरोकिने उहाँले बताउनुभयो ।

दुई वर्षभित्र सडकको स्तरोन्नति सम्पन्न हुनेछ । १२ मिटर चौडाइ रहेको यो सडकलाई सात मिटरमा कालोपत्रे गरिने नगरपालिकाले जनाएको छ । सडकको दायाँबायाँ व्यवस्थित ढल पनि निर्माण, सडकको दुवैतर्फ सडक बत्ती, फूलबारी र फुटपाथ रहने जनाइएको छ । यो सडक नमुना बन्ने विश्वास महतराको छ ।

समयमा नै सम्झौता अनुसार सडक निर्माणका गर्ने जिम्मा आरपी–साप–समता जेभीले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले बताउनुभयो । डिभी मल्टीशिल्ट उदयगंगा रिदाग आरसी जेभी परामर्शदाता रहेका छन् । उक्त सडक निर्माण भएपछि बिर्तामोड नगरपालिकाको वडा नं. ६, ७ र ८ हुँदै सदरमुकाम चन्द्रगढी जान सहज हुने बताइएको छ ।