• २२ वैशाख २०८१, शनिबार

दक्षिण एसियाकै कीर्तिमानी वैकुण्ठ

blog

काठमाडौं, जेठ ३ गते । नेपाली खेलकुदमा वैकुण्ठ मानन्धरको नामै काफी छ । एथलेटिक्सका सदाबहार खेलाडी मानन्धरको दैनिकी अहिले पनि बिहानै दशरथ रङ्गशालाबाट सुरु हुन्छ । उमेरले ७१ वर्ष काटे पनि उहाँको जोस १८-२० वर्षे युवाको भन्दा कम छैन ।

आफ्नै घर कालीमाटीदेखि दशरथ रङ्गशालासम्म दौडँदै आउँने र दशरथ रङ्गशालाको ट्रयाकमा केही फन्को लगाएर फेरि घरमा फर्कने उहाँको अहिलेको दैनिकी हो ।

खेलाडी हुँदै प्रशिक्षकको रूपमा उमेर हदका कारण ‘रिटायर्ड’ भएको पनि धेरै भइसक्यो । तर, जागिरबाट ‘रिटायर्ड’ भए पनि उहाँ एथलेटिक्सबाट ‘टायर्ड’ हुनुभएको छैन । स-साना खेलाडीलाई खेलमा लाग्न र आफूजस्तै खेलाडी बनाउन अहिले पनि मानन्धर देश दौडाहामा निस्कनु हुन्छ ।

खेलाडी, प्रशिक्षक, मेन्टर र एथलेटिक्स खेलाडीको हरेक क्षणमा सहयोगीको भूमिका निर्वाह गर्दै आउनुभएका मानन्धरले दौडबाटै आफूले सबै चिज पाएकाले जीवनको अन्तिम क्षणसम्म यही खेलमा लगानी गर्न चाहेको बताउनुभयो ।

नेपालले ओलम्पिक, दक्षिण एसियाली खेलकुद (साग), विश्व च्याम्पियनसिप, एसियाली च्याम्पियनसिप जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्दा सधैँ मानन्धरकै नाम अगाडि आउँछ ।

सन् १९८४ मा नेपालबाटै सुरु भएको साग खेलकुदमा मानन्धरले पहिलो संस्करणमै स्वर्ण जितेर वाहवाही बटुल्नुभयो । उहाँले सागमा लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उहाँ पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

सन् १९८७ मा भएको तेस्रो सागमा उहाँले म्याराथनमा दक्षिण एसियाकै कीर्तिमान रच्नुभयो । त्यति बेलाको उहाँको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म कुनै पनि दक्षिण एसियाका खेलाडीले भङ्ग गर्न सकेका छैन । मानन्धर नेपालबाट लगातार चार पटक ओलम्पिक खेल्ने खेलाडी पनि हुनुहुन्छ । यो कुनै पनि खेलाडीका लागि ठूलो सफलता हो ।

उहाँले सन् १९७६, १९८०, १९८४ र १९८८ मा लगातार नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा नेपालको झण्डा फहराउनुभएको थियो । नेपाली खेलकुदमा सबै खाले पुरस्कार र मानपदवी पाउनुभएका मानन्धर खेलकुदको विकासमा सरकारले चाहेजति ध्यान दिन नसकेको बताउनुहुन्छ ।

‘‘पहिला भन्दा खेलाडीलाई केही सुविधा त बढेको छ । तर महँगी पनि उत्तिकै छ । खेलाडीलाई अहिले भइरहेको सुविधाले पुग्दैन । खेलकुदको संरचना निर्माण, खेलाडीको तयारी र प्रशिक्षण, खेलाडीलाई तलब भत्ता जस्ता विषयमा राज्यले ध्यान दिन सकिरहेको छैन । खेलको समयमा पदकको कुरा गर्ने तयारीको समयमा आँखा चिम्लने गर्नुहुन्न,’’ मानन्धरले भन्नुभयो ।

नेपाली खेलकुदको समग्र विषयका बारेमा कीर्तिमानी वैकुण्ठ मानन्धरसँग गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशव गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :