बैतडी समाचारदाता
बैतडी, जेठ २ गते । दैनिक मजदुरी गरी छाक टार्न बाध्य कामदार महिलालाई दुई वर्षसम्म ज्याला नदिने ठेकेदारको कठालो समातेर प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले एक लाख रुपियाँ ज्याला असुल गरिदिनुभएको छ ।
दशरथचन्द नगरपालिका–४ का मुक्त हलिया परिवारका महिला विष्ना भुल र पार्वती भुलले अदालतको भवन निर्माण गर्ने ठेकेदार वसन्त साउद र सुरेश भुलले दुई वर्षसम्म ज्याला नदिएको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारीले उक्त समस्याको समाधान गरिदिनुभएको हो ।
दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका ती महिला छुट मुक्त हलिया हुन् । हलिया मुक्तिको घोषणा भए पनि रोजगारी नहुँदा मुक्त हलियाका महिला सडकमा गिट्टी कुट्ने र दैनिक ज्याला मजदुरीको काम गर्दै आइरहेका छन् ।
भवन बनाइसके पनि ठेकेदारले दुई वर्षसम्म काम गरेको ज्याला नदिँदा महिला मजदुरले सिडिओलाई गुहारेका हुन् । पीडित महिलाको गुनासो सुनेपछि ठेकेदारलाई प्रशासनमा बोलाएर रकम असुल गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महिलाको गुनासो सुन्दा अचम्मित भएँ । अन्याय गर्ने पनि हद हुन्छ । निर्माण व्यवसायीलाई प्रशासन कार्यालयमा बोलाएर महिला मजदुरले पाउने एक लाख रुपियाँ ज्याला असुल गर्नुपर्ने अवस्था आयो ।”
दैनिक मजदुरी गरी खाने महिलालाई दुई वर्षसम्म ज्याला नदिनु भनेको ठूलै अन्याय हो । ज्याला असुल गरेर आयन्दा यस्तो व्यवहार नगर्न ठेकेदारलाई चेतावनी दिएको उहाँले बताउनुभयो ।
यस जिल्लामा करिब चार हजारको हाराहारीमा मुक्त हलिया छन् । तीमध्ये हालसम्म दुई हजारले मात्रै मुक्त हलियाको परिचयपत्र पाएका छन् । बैतडीका अझै दुई हजार हलिया छुट रहेको हलिया आन्दोलनका अगुवा नेता राजुराम भुलले बताउनुभयो ।