• ११ मंसिर २०८१, मङ्गलबार

सरकारीमा पुस्तक पुगे निजीमा अझै पुगेनन्

blog

पाल्पा समाचारदाता

पाल्पा, जेठ २ गते । शैक्षिक सत्र सुरु भएको दुई साताभित्र पाल्पाका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको छ भने निजी विद्यालयमा भने पुस्तक अझै पुग्न सकेका छैनन् । 

विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको तीन/चार महिनासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको थिएन । यो वर्ष वैशाखको दोस्रो साताभित्रै जिल्लाका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको शिक्षकहरूले बताएका छन् । सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाले यो वर्ष समयमै पाठ्यपुस्तक पाउँदा पठनपाठन अगाडि बढाउन सहज भएको रिब्दीकोटस्थित भास्कर माविका प्रधानाध्यापक नारायणबहादुर चिदीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष सबै पाठ्यपुस्तक विद्यार्थीले समयमै पाउँदा पठनपाठन अगाडि बढाउन सजिलो भएको छ ।” 

पाल्पाका सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजारभन्दा बढी बालबालिका छन् । उनीहरूले समयमै पढ्न पाउने गरी हात हातमा पाठ्यपुस्तक पुगिसकेको छ । यस वर्ष विगतका वर्षहरूमा जस्तो पाठ्यपुस्तक आएन भनेर पठनपाठन रोक्न नपरेको विद्यालयका शिक्षक बताउँछन् । गत वर्ष सामाजिक विषयमा पाठ्यपुस्तक पढाइ भएको चार महिना बितिसक्दा पनि विद्यार्थीले नपाएको तानसेनस्थित जनता माविका शिक्षक कविराज नेपालले बताउनुभयो । 

समयमै पाठ्यपुस्तक पाउँदा विद्यार्थी खुसी छन् भने शिक्षकलाई समेत पठनपाठन अगाडि बढाउन सजिलो भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जनाएको छ । यस वर्ष जिल्लाको दुर्गम स्थानमा रहेका विद्यालयमा पनि वैशाखको दोस्रो साताभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको एकाइ प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो । पाठ्यपुस्तक समयमै पुगेकाले पठनपाठनलाई प्रभावकारी बनाउन मद्दत पुगेको उहाँले बताउनुभयो । संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले भने यो वर्ष जेठ लाग्दासमेत पाठ्यपुस्तक पाउन सकेका छैनन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेर पठनपाठन भइसकेको छ तर संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले अहिले पनि तीनदेखि पाँच वटा विषयमा पाठ्यपुस्तक पाउन सकेका छैनन् । 

पाठ्यपुस्तक छपाइमा भएको ढिलाइले अहिले पनि निजी विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको माथागढी सराईस्थित किरण स्टेसनरीका सञ्चालक सञ्जय घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान, गणित, स्वास्थ्य, सामाजिक विषयका पाठ्यपुस्तक पाउन सकेका छैनन् ।” 

पाल्पा जिल्लाका संस्थागत विद्यालयमा पढ्ने १० हजारभन्दा बढी विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन नसकेको शिक्षकहरू बताउँछन् । विद्यालय तथा प्याब्सनको स्वार्थमा हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्ने झमेलाले पनि संस्थागत विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित हुनुपरेको अभिभावकको गुनासो छ ।