वीरगन्ज समाचारदाता
वीरगन्ज, जेठ २ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बन्द रहेका सरकारी उद्योग सञ्चालनका लागि गृहकार्य गरिरहेको बताउनुभएको छ ।
वीरगन्जमा सोमबार आयोजित नेपाल प्रेस युनियन पर्साको १० औँ अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वीरगन्ज चिनी कारखानालगायत बन्द रहेका सरकारी उद्योगहरू कुन संरचनामा सञ्चालन गर्न सकिन्छ भनेर छलफल चलिरहेको र यसका लागि आवश्यक गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्दै मन्त्री रिजालले यो भ्रष्टाचार प्रकरण एमाले नेतृत्वकै सरकारको पालादेखि सुरु भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका हुनुहुन्थ्यो ? टोपबहादुर रायमाझी मन्त्री हँुदा प्रधानमन्त्री कुन पार्टीका हुनुहुन्थ्यो ? यो सबैलाई थाहा छ, भनिरहनु पर्दैन ।” अहिलेको गठबन्धन सरकारले नक्कली शरणार्थीका नाममा भएको भ्रष्टाचार प्रकरणको अनुसन्धानमा पूर्ण रूपमा सघाइरहेको बताउँदै मन्त्री रिजालले भ्रष्टाचारीलाई कारबाही हुनैपर्ने जनाउनुभयो ।
सरकारले अनुसन्धानमा कुनै हस्तक्षेप नगर्ने बताउँदै उहाँले देशको अर्थतन्त्र पुनः चलायमान बनाउन सरकार लागिपरेको समेत दाबी गर्नुभयो । प्रेस युनियन पर्साका जिल्ला अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न समारोहलाई प्रदेश सभा सदस्यद्वय जनार्दनसिंह क्षेत्री र श्याम पटेल, कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मीलगायतले पनि शुभकामना दिनुभएको थियो ।