• १२ साउन २०८१, शनिबार

पूर्वसभासद शेर्पा प्रहरीमा

पूर्व गृहमन्त्री खाणको बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु

blog

काठमाडौँ, जेठ १ गते । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उहाँसँगको बयान आजका लागि रोकिएको छ ।     

 खाणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप भएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन सुरु गरेको छ । 

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने भन्नुभयो, “बयान लिँदालिँदै पूर्वमन्त्री खाणले सञ्चो नभएको बताउनुभयो, त्यसपछि उहाँसँगको बयान रोकेर पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन सुरु भएको छ ।”     

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ । 

कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन बाँकी रहेकोमा आज बिहानदेखि नै खाणसँगको बयान सुरु भएको थियो । तर सञ्चो नभएको बताएपछि उहाँसँगको बयान रोकेर कार्यालयले रायमाझीसँग बयान लिन थालेको हो ।     

 यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् ।     

 आइतबारअघि पक्राउ परेका १२ जनालाई अनुसन्धानका लागि आइतबार अदालतबाट चार दिनको म्याद प्राप्त भएको थियो । आइतबार पक्राउ परेका रायमाझीको हकमा भने आज तीन दिनको म्याद थप भएको छ ।

शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो । वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।     

 उक्त घटनामा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए । त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।     

  यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए । 

उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।     

 पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक हाल सम्पर्कविहीन छन् ।     

 शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरूविरुद्ध २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरेप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ । 

उक्त घटना विसं २०७६ सालदेखि नै सुरु भएको र २०७७ सालदेखि भने गृहका अधिकारीसहितको मिलेमतोमा सङ्गठित रूपमा ठगी भएको प्रहरीले दावी गरेको छ । लामो समयसम्म शरणार्थी बनेर अमेरिका जान नपाएपछि मात्रै पीडितहरू प्रहरीमा आएका थिए । गत जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए ।     

  तर उक्त घटनाका आरोपीहरू १० महिनापछि गत चैतमा मात्रै पक्राउ परेपछि उनीहरुको बयानका आधारमा घटनामा जोडिएका मन्त्री तथा सरकारी उच्च पदस्थ अधिकारीहरू समेत पक्राउ परेका हुन् । अन्य केही उच्च अधिकारीहरूका विषयमा भने प्रहरीले प्रमाण जुटाउने प्रयास जारी राखेको बताइन्छ ।

पूर्वसभासद शेर्पा प्रहरीमा

नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा आज जिल्ला प्रहरी परिसर काठमाडौँ पुग्नुभएको छ । 

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उहाँ आफँै परिसरमा आउनुभएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले राससलाई जानकारी दिनुभयो । 

उहाँ शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । त्यसपछि उहाँलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो । 

उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस