• १४ वैशाख २०८१, शुक्रबार

ऐतिहासिक फोटोहरू राखिएको पाइयो : सभामुख घिमिरे

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे फोटो प्रदर्शनीको अवलोकन गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

काठमाडौं, जेठ १ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले धर्मपथस्थित गोरखापत्र संस्थानमा आयोजना गरिएको फोटो प्रदर्शनीको सोमबार अवलोकन गर्नुभयो । 

गोरखापत्र १२३ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवका अवसरमा वैशाख २४ गतेबाट सुरु भएको फोटो प्रदर्शनी जारी छ । प्रदर्शनीमा वि.सं. २०३० देखि २०६० सम्मका ऐतिहासिक तस्बिर राखिएको छ । 


सभामुख घिमिरेले प्रदर्शनीमा राखिएका तस्वीरहरु अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । साथै उहाँले तस्वीरहरु कुन सन्दर्भ, कहिलेका हुन् भनी चासो पनि व्यक्त गर्नुभयो । 

फोटो प्रदर्शनीको अवलोकनपछि प्रतिक्रिया दिँदै सभामुख घिमिरेले भन्नुभयो, “पुराना फोटोलाई जसरी राख्न सकियो, बडा ऐतिहासिक चीज संरक्षण भएको छ । यो भन्दा अझ पुरानालाई पनि राख्न सके अझ बेटर हुन्थ्यो भन्ने मलाई लागेको छ । खास कालखण्डको भयो यो । पहिलो प्रेसको रुपमा राणा प्रधानमन्त्री जङ्गबहादुरले ब्रिटेनबाट ल्याएको प्रेसले गोरखापत्र चाहिँ छाप्यो भन्ने छ नि, त्यसको फोटो कमसेकम हामीसँग होला सायद ।”



सभामुख घिमिरेले गोरखापत्र एउटा सजीव इतिहास भएको पत्रिका हो भन्नुहुँदै पछि रङ्गीनमा प्रकाशन भएको र दैनिक प्रकाशन भएको छुट्टा–छुट्टै महत्व रहेको बताउनुभयो । 

सभामुख घिमिरेले भन्नुभयो, “त्यतिबेलादेखि पछि त अब रङ्गीन निकालेको महत्व, डेली निस्कँदाको अर्को महत्व छ । मैले गोरखापत्र प्रकाशनको १२३ वर्ष पुगेको सन्दर्भमा पत्रकारिता दिवसमा पनि शुभकामना व्यक्त गरेको छु, जीवित इतिहासलाई अझ राम्रो बनाउनुपर्छ । अहिले ३८ भाषामा निकालेका यी सबै कुराहरु ऐतिहासिक कुरा हुन् ।” 

उहाँले आफूले गोरखापत्र पहिलो चोटि १७ वर्षको उमेरमा एसएलसीको परीक्षाफल हेर्न एक महिना कुरेर पढेको स्मरण पनि गर्नुभयो । 



सभामुख घिमिरेले भन्नुभयो, “पहिला पत्रिका भन्ने बित्तिकै गोरखापत्र भन्ने बुझिन्थ्यो । पत्रिका पढ्ने भनेकै, समाचार पढ्ने भनेकै गोरखापत्र भन्ने यसै पनि हुन्थ्यो । म १७ वर्षको हुँदा एसएलसी पास गरेको एक महिना पछाडि गोरखापत्र खोजेर गाउँमा मैले सिम्बोल नम्बर हेर्दा मान्छेहरुको भीड आएको मलाई सम्झना छ ।” 

फोटो प्रदर्शनी, डिजिटल अर्काभिङको अवलोकनपछि त्यहाँ राखिएको आगन्तुक पुस्तकमा उहाँले यस्तो लेख्नु भएको छ : 

आज २०८० जेठ १ गते गोरखापत्र १२३ औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको फोटो प्रदर्शनीमा आउने मौका मिल्यो । यस अवसरमा गोरखापत्रको ऐतिहासिकताको सजीवता देख्न पाउँदा म ज्यादै प्रभावित भएको छु । यस संस्थानका कर्मचारी र व्यवस्थापकहरुले गर्नुभएको प्रयास यसको अर्काइभका काम र विद्युतीय व्यवस्थापन भएको कुराले अझ महत्व राखेको छ । जीवित इतिहासलाई संस्थानको आफ्नै संग्रहालय बनाउने र त्यो नमुनाको रुपमा अरु सबैले सिक्नुपर्छ भन्ने मेरो ठम्याई छ । यो अवसरमा मलाई मसिनो गरी बुझाउने, बताउने र देखाउनु हुने सम्पूर्ण साथीहरुप्रति आभार व्यक्त गर्दै यो संस्थाको र यो ऐतिहासिक कामको अग्रगतिका साथ प्रगति हुन सकोस् हार्दिक शुभकामना ।

यसैगरी, उहाँले गोरखापत्र संस्थानमा रहेको पुस्तकालयको पनि अवलोकन गर्नुभयो ।

उहाँ संस्थानमा आइपुग्नु हुँदा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया लगायतले स्वागत गर्नुभएको थियो । फोटो प्रदर्शनीका बारेमा फोटोग्राफी प्रमुख रामप्रसाद हुमागाईले जानकारी गराउनु भएको थियो । 


प्रतिनिधि सभाका सभामुख देवराज घिमिरलाई संस्थानमा स्वागत गर्नुहुँदै संस्थानमा महाप्रबन्धक लालबहादुर ऐरी ।


प्रतिनिधि सभाका सभामुख देवराज घिमिरलाई संस्थानमा स्वागत गर्नुहुँदै गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई ।


मायाको चीनोस्वरुप गोरखापत्रको पहिलो अङ्क प्रतिनिधि सभाका समामुख देवराज घिमिरेलाई प्रदान गरिँदै ।