• २३ वैशाख २०८१, आइतबार

विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसको प्रतिनिधि सभा बैठक सुरु हुनुपूर्व राष्ट्र्रियगानमा संसदहरु सहभागी हुनुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं, जेठ १ गते । प्रतिनिधि सभा बैठकमा सांसद दीपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बस्नुभएका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बस्नुभएको भन्दै सांसद गिरीले विकास निर्माणको काममा देखिएको बेथिति अन्त्यका लागि माग गर्नुभयो । बैठकको आकस्मिक समयमा उहाँले दशेव्यापीरुपमा विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिक्पाल शाहीले गत वैशाख २७ गते दैलेखको एक सामुदायिक वनमा भएको आगलागीमा परी भएको जनधनको क्षतिप्रति सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । सो घटनामा परी घाइते भएकाको निःशुल्क उपचारको प्रबन्ध गर्न उहाँले माग गर्नुभयो ।

सांसद मनिष झाले विश्वका विभिन्न देशमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको तथ्य पेस गर्दै मुलुकभित्र पछिल्ला दिनमा देखिएको नक्कली शरणार्थी प्रकरणमा जोडिएका मानिस भाग्न नपाउन भन्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चन्द्रबहादुर विश्वकर्माले पनि दैलेखमा भएको आगलागीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त विपद्मा परेका नागरिकले उपचार गर्न नसक्ने अवस्था सिर्जना भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद अम्मरबहादुर थापाले नक्कली शरणार्थी प्रकरण मानव तस्करी भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधनको प्रयोगमा बढोत्तरी भए पनि नीति नियम र कानुनको प्रबन्ध नहुँदा नागरिकले सुविधा नपाएको बताउनुभयो ।

सांसद दीपकबहादुर सिंहले मुलुकको दक्ष जनशक्ति बिदेसिएकाले उनीहरूलाई देशभित्रै राख्न आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेटको प्रबन्ध गर्नुपर्ने बताउनुभयो । बजेटमा दक्ष जनशक्तिका लागि देशभित्रै रोजगारीको प्रबन्ध गर्न उहाँले माग गर्नुभयो । रासस