• १४ मंसिर २०८१, शुक्रबार

जनताले दुःख नपाउने गरी काम गर्नुहोस् : मन्त्री गुरुङ

blog

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ । फाइल तस्बिर

काठमाडौं, वैशाख ३१ गते। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ। भरतपुर महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उहाँले जनताको हित सोचेर काम गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ तर न्यायका नाममा अपराधी छुट्ने काम कहीँ कतैबाट नहोस्।”

कही कतै मेलमिलापको नाममा जघन्य अपराध गर्नेहरुसमेत छुटेको भन्ने सुनिएको भन्दै उहाँले कानुनको आँखाबाट अपराधी छुट्न नहुने बताउनुभयो। महानगरपालिकाको न्यायिक समितिले गरेका काम सराहनीय भए पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रसंशायोग्य रहेको बताउनुभयो। न्याय दिन गठित न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नुपर्ने उहाँको भनाइ थियो। 

सो अवसरमा चितवन जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, जिल्ला बार एशोसियशन चितवन अदालतका अध्यक्ष खगराज कँडेल, भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडी, महानगरका पर्यटन विज्ञ डा विश्वराज सुवेदी लगायतले बोल्नुभएको थियो।

महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाको न्यायिक समितिमा ठाडो निवेदन ४१ वटा उजुरी दर्ता भएको जानकारी दिनुभयो। जसमध्ये १३ वटा उजुरी मेलमलिाप भएको र अन्य मेलमिलापका लागि छलफलमा रहेको बताउनुभयो। 

यस्तै फिरादपत्र प्रक्रियाबाट १३ वटा निवेदन दर्ता भएका थिए। जसमध्ये ६ वटाको निर्णय भइसकेको र अन्य छलफलमा रहेको उहाँले बताउनुभयो। रासस