• २६ पुस २०८१, शुक्रबार

वडाध्यक्षमाथि आक्रमण

वडा कार्यालय भवन बनाउने विषयमा विवाद

blog

नवराज श्रेष्ठ

रामेछाप, वैशाख ३० गते । रामेछापको खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलमाथि स्थानीयको एक समूहले आक्रमण  गरेको छ।  गाउँ कार्यपालिकाको कार्यालयबाट मोटरसाइकलमा घर फर्कंदै गर्दा बिहीबार पकरबासको सिकारी डाँडामा बाटो छेकी केही व्यक्तिले उहाँमाथि आक्रमण  गरेका हुन्। सो समूहले आफूलाई लछारपछार गरी झोला खोसेको र मोटरसाइकल तोडफोड गरेको जानकारी उहाँले दिनुभयो। 

सो वडाको वडा कार्यालय भवन बनाउने स्थानको विषयलाई लिएर स्थानीयले आफूमाथि आक्रमण  गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो। “वडाको आफ्नै जग्गा भएको ठाउँ पकरबासको ठाँटीमा भवन बनाउन सुरु गरेपछि फुल्पा क्षेत्रका बासिन्दाले सो स्थानमा भवन बनाउँदा अपायक पर्ने भन्दै विरोध जनाउँदै आएका थिए, सोही विषयमा ममाथि आक्रमण  भयो,” उहाँले भन्नुभयो। 

यसअघि वडा कार्यालयले सोही स्थानमा आफ्नै कच्ची भवनबाट सेवा दिँदै आएको थियो। सोही ठाउँमा पक्की भवन बनाउन गाउँपालिकाले बजेट विनियोजन गरेको छ र भवन निर्माणको काम पनि सुरु गरिएको छ। सर्वदलीय बैठकले समेत त्यस ठाउँमा भवन बनाउने निर्णय गरी निर्माण सुरु भएपछि स्थानीयले विवाद सुरु गरेका थिए। उनीहरूले भवन निर्माणका लागि गरिएको ‘ले–आउट’ समेत भत्काइदिएका थिए। 

वडाध्यक्षमाथि आक्रमण  भएको भन्दै खाँडादेवी गाउँपालिकाले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेको छ। गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले वडाध्यक्ष पौडेलमाथि आक्रमण  गरी उहाँ चढेको सवारीसाधनसमेत तोडफोड गरेकोप्रति खेद प्रकट गर्नुभएको छ। सो घटनामा संलग्नलाई पक्राउ गरी तत्काल कानुनी कारबाहीको प्रव्रिmया सुरु गर्न पनि गाउँपालिकाले माग गरेको छ। वडाध्यक्ष पौडेलमाथि भएको सामूहिक आक्रमण को घटनाबारे दुवै पक्षबीच छलफल चलिरहेकाले शुक्रबार  दिउँसोसम्म प्रहरीमा जाहेरी नआएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो।