• ७ वैशाख २०८१, शुक्रबार

पाठकको जीवनी लोकार्पण

blog

काठमाडौँ, वैशाख ३० गते । राजनीति, कानुन र साहित्यको माध्यमबाट नेपाली समाजका लागि योगदान पु-याउनुभएका प्रेमकृष्ण पाठकको जीवनीमा आधारित पुस्तक ‘अनेक आयाममा क्रान्तियोद्धा  प्रेमकृष्ण पाठक’ लोकार्पण भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वप्नवाटिकाद्वारा शुक्रबार  राजधानीमा आयोजित समारोहमा पुस्तक लोकार्पण गर्नुभएको हो। उहाँले प्रेमकृष्ण पाठकलगायतका व्यक्तित्वले विभिन्न विधामार्फत निरन्तर योगदान पु-याएका कारण देशमा लोकतन्त्र, गणतन्त्रलगायतका परिवर्तन आउन सकेको बताउनुभयो।

विसं १९९७ मा जन्मनुभएका पाठकको विसं २०७८ मा निधन भएको थियो। कार्यक्रममा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्रोही सोचका मिलनसार व्यवहारका पाठक अत्यन्त स्पष्ट वक्ता हुनुहुन्थ्यो भन्दै स्मरण गर्नुभयो। मन्त्री राईले प्रेमकृष्ण पाठक स्वतन्त्र रूपले सोच्ने र आफ्नो विचार व्यक्त गर्न नहिच्किचाउने, आफ्नो काममा दत्तचित्त, इमानदार व्यक्तित्वका धनी हुनुहुन्थ्यो भन्दै जीवनभर उहाँको व्यवहार पछ्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिनिधि सभाका सदस्य सुशीला श्रेष्ठले प्रेमकृष्ण पाठक पदको लोभ नगर्ने तर निरन्तर राजनीतिक आस्थामा आफूले सकेको योगदान दिने र गुमनाम रहन चाहने व्यक्ति भएको  भन्दै उहाँको शेषपछि प्रकाशित पुस्तकमा उहाँले गर्नुभएको कर्मलाई समेट्ने प्रयास गरिएको बताउनुभयो। 

पूर्वसभामुख दमननाथ ढुङ्गानाले पाठक नेपाली कांग्रेस पार्टीबाट राजनीतिमा प्रवेश गरी पछिल्लो समय जनता समाजवादी पार्टीमा आबद्ध रहनुभएको बताउनुभयो। उहाँले नेपालमा देशभक्त र सही विचारका धनी व्यक्तित्वलाई स्वीकार्ने पार्टीकै अभाव रहेको पनि बताउनुभयो। साहित्यकार डा. दामोदर पुडासैनीले यस कृतिमा पाठकले जीवनकालमा लेख्नुभएका ६३ वटा लेख रचना र उहाँका परिवारका सदस्य, साथी, विज्ञलगायतले पाठकको योगदानबारे लेखेका ४३ वटा लेख समेटिएका छन् भन्नुभयो। 

स्वर्गीय पाठककी धर्मपत्नी साहित्यकार हिरण्यकुमारी पाठकले उहाँको जीवनकालमै पुस्तक प्रकाशन गर्ने तयारी भइरहँदा उहाँको असामयिक निधन भएपछि छोरी पत्रकार नम्रता शर्मा र विभिन्न व्यक्तित्वको सहयोगमा पुस्तक तयार भएको जानकारी दिनुभयो।