• ११ असोज २०८१, शुक्रबार

सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन

blog

नेपाल–भारत सीमा स्तम्भको अनुगमनमा पुगेका सुनसरी जिल्लाका सुरक्षा अधिकारी ।

जयकृष्ण यादव 

इनरुवा, वैशाख २९ गते। सुनसरीका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन्। शुक्रबार मोरङको सीमा केशल्या खोला र नेपाल भारत सीमा अमडुवादेखि देवानगञ्जको कौवाखोचसम्मको  क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भको अनुगमन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो।

सीमा स्तम्भहरुको अवस्था, सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयको भनाइ छ। 

नियमित अनुगमनको क्रममा यो वर्ष पहिलो पटक बर्जु गाउँपालिका ३ को अमडुवा, ४ को बेरिया र देवानगञ्ज गाउँपालिका ५ को साहेवगञ्ज, ३ र ४ को कौवाखोच कप्तानगञ्ज सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरिएको प्रजिअ पाण्डेले बताउनुभयो। 

नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाईका साथ शान्तीसुरक्षा मजबुत राख्न नेपाल र सशस्त्र प्रहरीलाई निर्देशन दिएको उहाँको भनाइ छ । प्रजिअ पाण्डेले सुनसरीको बर्जु गाउँपालिका ३ को अमडुवा स्थित पुर्वी पहिलो जंगे सीमा सीमास्तम्भ नं. १८२ पीपी ७१ देखी देवानगञ्ज गाउँपालिका ३ पाचोसिम्बर कप्तानगञ्जको सानो सीमा सीमास्तम्भ नं. १८९ पीपी ७१ सम्मको अनुगमन गरिएको बताउनुभयो। 

उहाँका अनुसार सीमा नाकामा हाल नयाँ कुनै पनि समस्या रहेको छैन। सीमा अनुगमनमा प्रजिअ पाण्डेसहित सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्वाहाङ्फे, सशस्त्र प्रहरी नायव उपरीक्षक तथा निरीक्षकहरुको सहभागिता रहेको थियो। साथै सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीलाई कार्य सम्पादनको क्रममा सुरक्षा मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न समेत उत्प्रेरित गर्नुभएको थियो।