लीलाधर वली
घोराही, वैशाख २९ गते । राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि उहाँका आफन्तजनले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी मधु बुढाथोकी केसीको बिहीबार प्रतिष्ठानमा मृत्यु भएपछि घटनाको उचित अनुसन्धानसहित क्षतिपूर्तिको माग राख्दै शुक्रबार बिहानैदेखि आफन्त तथा पीडितहरु आन्दोलनमा उत्रिएका छन् ।
२८ वर्षीया मधु केसीको बिहीबार दिउँसो १ बजे सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान शेरबहादुर केसीले बताउनुभएको छ ।
उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराई आफू खुशी सुत्केरीको उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान् केसीले जानकारी दिनुभएको छ ।
मृतकका श्रीमान् केसीले भन्नुभयो, ‘प्रतिष्ठानको रिपोर्ट अनुसार डेलिभरीका लागि बिहीबार बिहान ९ बजे आइपुगेका थियौँ । दिउँसो १ बजे नर्मल डेलीभरी भयो भन्नुभयो । तर बच्चा जन्मिएपछि साल निस्किएको रहिनछ । जसका कारण महिलाको मृत्यु हुन पुग्यो ।’
बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागजमा हस्ताक्षर गर्न लगाएको श्रीमान् बताउनुहुन्छ ।
‘पहिले राम्रै छ भनेका थिए, तर बिरामीको अवस्था सिरिएस भएपछि पाठेघरको अप्रेसन गरेर साल निकाल्ने भनेर मलाई हस्ताक्षर गर्न लगाउनु भयो । त्यसको केही क्षणमै बिरामीको मृत्यु भयो, भन्नुभयो ।’ सुत्केरी हुनुअघि प्रतिष्ठानमै सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको अवस्थामा प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकी बताउनुहुन्छ । शिशुको अवस्था भने सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।
मृतकले उचित क्षतिपूर्ति, लापरवार्ही गर्नेलाई कारबाहीसँगै शिशुको पालनपोषण र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नुपर्नेलगायतका माग राख्दै बिहानैदेखि आन्दोलनमा उत्रिएका छन् । शरीरको सबै अंग परीक्षण हुनुपर्ने उनीहरुको माग छ ।
सुत्केरीको मृत्युको विषयमा प्रतिष्ठानले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर पीडितहरु समक्ष सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रतिष्ठानले प्रारम्भिक जवाफ दिएको मृतकका श्रीमान् केसी बताउनुहुन्छ ।
घट्नाका विषयमा निकास खोज्न बिहान प्रतिष्ठान र पीडित पक्षबीच छलफल भए पनि निकास निस्कन नसेको पीडित पक्षले जनाएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले चासो लिँदै प्रतिष्ठान र पीडित पक्षलाई राखेर समस्याको निकास खोज्ने प्रयास भइरहेको बताउनुभएको छ ।