स्याङ्जा समाचारदाता
स्याङ्जा, वैशाख २९ गते । सिद्धार्थ राजमार्ग, हेलुबाट अर्जुनचौपारी हुँदै पर्वत जोड्ने सडक कालोपत्रे गर्न लागिएको छ । ठेक्का सम्झौता भएको साढे तीन वर्षमा गोल्डेन गुड बानियाँ जेभीले कालोपत्रे गर्ने प्रव्रिmया अगाडि बढाएको हो ।
पूर्वाधार विकास कार्यालय, स्याङ्जामार्फत निर्माण कम्पनीले २०७६ पुस १६ गते तीन वर्षमा काम सक्ने गरी सम्झौता अगाडि बढाएको थियो । निर्माण कम्पनीले एक वर्ष म्याद थपेर आगामी असार ३० गते सक्ने गरी सडक कालोपत्रे अगाडि बढाएको पूर्वाधार विकास कार्यालय, स्याङ्जाका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।
साढे छ किलोमिटर लम्बाइ र नालासहित साढे सात मिटर चौडा सडक कालोपत्रे गर्ने गरी ११ करोड ९७ हजार ९२५ रुपियाँमा निर्माण कम्पनीले सम्झौता गरेको थियो । निर्माण कम्पनीले १८ करोड रुपियाँको ३८.८३ प्रतिशत रकम छोडेर सम्झौता गरेको थियो । कोरोनाका कारण सडक निर्माण केही ढिला भए पनि अबको दुई महिनामा ‘डिभिएसी’ कालोपत्रे सडक अर्जुनचौपारीसम्म बन्ने पूर्वाधारका प्रमुख अर्यालले बताउनुभयो ।
दरौखोलाबाट अर्जुनचौपारीमा बस चल्न थालेको २९ वर्षमा कालोपत्रे सडकमा यात्रा गर्ने स्थानीयको चाहना पूरा हुन लागेको हो । हेलु–अर्जुनचौपारी सडक कालोपत्रे भएसँगै अर्जुनचौपारी गाउँपालिकामा समेत पहिलो पटक कालोपत्रे सडकले छोएपछि पालिकाबाट जिल्ला सदरमुकाम, पोखरा र बुटवल जाने अर्जुनचौपारी र पर्वतका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
टेन्डर सम्झौता भएर सडक निर्माण अगाडि बढे पनि पालिकाको दबाबमा निर्माण कम्पनीले एक वर्ष समय थपेर काम सक्न थालेको हो । पालिका सदरमुकामसम्म कालोपत्रे भएसँगै पालिकाले प्रदेश र केन्द्रसँग समन्वय गरी पर्वतको घन्टेसम्म कालोपत्रे गर्ने तिवारीले बताउनुभयो ।