• १२ पुस २०८१, शुक्रबार

जथाभाबी फोहोर फालेपछि दुर्गन्ध

blog

महोत्तरी समाचारदाता

महोत्तरी, वैशाख २८ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा डम्पिङ साइट नहुँदा स्थानीय बासिन्दाले जथाभाबी फोहोर फाल्ने गरेका छन् । फोहोरको समुचित व्यवस्थापन हुन नसक्दा स्थानीय बासिन्दा विविध समस्यामा परेका छन् ।

डम्पिङ साइट अभावमा नगरपालिकाले विभिन्न ठाउँबाट उठाउने फोहोर जथाभाबी थुपार्ने र सबै ठाउँको फोहोर नउठाउँदा स्थानीय बासिन्दा समस्यामा रहेको देखिएको छ ।

नगरपालिकाको मणिपाल, कारागारभन्दा उत्तरको सडकछेउलगायतका स्थानमा फोहोर थुपार्ने गरेको कारण सो सडक भएर जाने यात्रु तथा स्थानीयवासीलाई मुख, नाक थुनेर जानुपर्ने बाध्यता रहेको जलेश्वरका युवा जितेन्द्र पासमानले जानकारी दिनुभयो ।  नगरपालिकामा रहेको १२ वडामध्ये १ र २ वडाको फोहोर मात्रै नगरपालिकाले उठाउने गरेको जानकारी दिँदै उहाँले कर सबैको लिने तर फोहोर केही वडाको मात्रै उठाउने कार्य गलत भएको बताउनुभयो । 

नगरपालिकाका योजना प्रमुख पवन झाले नगरमा डम्पिङ साइट अभाव भएको भन्दै फोहोरमैला व्यवस्थापन केन्द्रका रूपमा वडा नं. १ र ९ को बिचमा रहेको रातो नदीको किनार बेलाधारमा फोहोर व्यवस्थापन गरिएको जानकारी दिनुभयो । नगरपालिकाको अधीनस्थ रहेको १२ कट्ठा जग्गामा फोहोर थुपार्ने गरिएको बताउँदै उहाँले डम्पिङ साइट निर्माणको पहल भइरहेको बताउनुभयो । जाइकाको सहयोगमा डम्पिङ साइट निर्माणको पहल भइरहे पनि अहिलेसम्म यस विषयमा ठोस उपलब्धि हुन नसकेको उहाँले बताउनुभयो । 

वडा नं. ९ बेलाको स्थानीय सुवेशकुमार महतोले बेला धारको नजिकै बाटोछेउमा जथाभाबी फोहोर थुपारिएका कारण हिँडडुलमा समस्या देखिएको बताउनुभयो । हरेक ठाउँबाट उठाइएको फोहोर यहाँ बाटो नजिकै थुपार्दा नाक थुनेर हिँड्नुपर्ने बाध्यता रहेको बताउँदै एकै ठाउँमा राख्नुपर्नेमा जहाँ पायो त्यही राख्ने गरेकामा आक्रोश पोख्नुभयो । उहाँले सडकभन्दा अलिभित्र राखेको खण्डमा र समय समयमा जलाए यस क्षेत्रको बासिन्दाका लागि राम्रो हुने बताउनुभयो ।

वडा नं. ४ का बासिन्दा सोली झाले वडामा कहिल्यै पनि फोहोर उठाउन नगरपालिकाबाट नआएको बताउँदै नगरपालिकाले हरेक वडालाई प्राथमिकतामा राखेर साप्ताहिक रूपमा भए पनि फोहोर उठाउन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाबाट फोहोर उठाउन नआउँदा वडामा जथाभाबी फोहोर थुप्रिएको र यसले स्वास्थ्य समस्या निम्तिने बताउनुभयो । 

नगरपालिकाको गत असार ५ गते सम्पन्न नवौँ नगर सभाबाट फोहोरलाई मोहरमा परिणत गर्ने उद्देश्यका साथ (जिरो वेस्टेज) अवधारणा अनुसार शून्य फोहोर अवस्था निर्माणका लागि फोहोरजन्य पदार्थको स्रोतमा वर्गीकरण गर्ने उल्लेख गरिएको थियो । नगर सभामा फोहोर सङ्कलनका लागि हरियो, रातो र नीलो अभियानलाई अगाडि बढाउन पहल गरिने र फोहोरको मात्रा घटाउने, जैविक तथा अजैविक फोहोरजन्य पदार्थको पुनः प्रयोग र पुनः प्रशोधन विधिलाई प्राथमिकता दिने बजेटमा व्यवस्था गरिएको उल्लेख भए पनि सो अनुसारको कामकाज हुन सकेको छैन । 

नगर प्रमुख सुरेश साह सोनारले हरेक वडाको फोहोर सङ्कलन गरी नगरपालिकाको अधीनस्थ जग्गामा फालिने गरिएको बताउँदै ढिलो भए पनि डम्पिङ साइट निर्माण गरी नगर सभाले गरेको निर्णय अनुसारको कामलाई अगाडि बढाउने बताउनुभयो ।