अविनाश चौधरी
धनगढी, वैशाख २७ गते। कैलालीमा ४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन भएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको मिटरब्याज पीडित सहायता कक्षमार्फत आजसम्म ४५ जनाले निवेदन दिएका हुन्। उनीहरूको निवेदन अनलाइन इन्ट्री भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ ले पीडितबाट निवेदन माग गरेपछि प्रशासनले सहायता कक्ष स्थापना गरेर निवेदन सङ्कलन गरिरहेको छ। वैशाख १७ देखि सुरु भएको निवेदन सङ्कलनको कार्य आउँदो ३१ गतेसम्म सञ्चालन हुनेछ।
सहायता कक्ष स्थापना गरेर निवेदन सङ्कलनको कार्य थाले पनि अहिलेसम्म धेरै पीडितहरू नआएको जोशीले बताउनुभयो।
“पीडितहरूले सूचना नपाएका हुन कि, के कारणले हो, अहिलेसम्म धेरै निवेदन परेको छैन”, उहाँले भन्नुभयो,“मैले सबै स्थानीय तहमा पत्रका साथै पटक–पटक सूचना पठाउँदा पनि पीडित आएका छैनन्।”
उहाँले यसअघि उजुरी दिएकाहरू पनि निवेदन लिएर नआएको बताउनुभयो। केही महिना अगाडि प्रशासनले उजुरी माग गर्दा ९५ जना पीडितले प्रशासनमा उजुरी दिएका थिए। पीडित नआएपछि एक जना प्रहरीलाई नै व्यक्तिगत रूपमा पीडितलाई फोन गर्ने कार्यमा खटाएको सूचना अधिकारी जोशीले बताउनुभयो।