• ६ जेठ २०८१, आइतबार

भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गरियोस् : सांसद अर्याल

blog

प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल ।

काठमाडौं, वैशाख २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गर्नुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्नसक्ने खतरा भएको भन्दै राहदानी तुरुन्त जफत गर्न माग गर्नुभएको हो ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने पनि बताउनुभयो । उहाँले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताउनु भयो ।

‘‘भुटानीशरणार्थीको विषय सुरुवात मात्रै हुन् । यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरू खोल्दै जानुपर्ने छ । सरकारले खुट्टा नकमाओस् । प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्छ । तर प्रहरीले पनि मेहनत गरेर जुटाएको प्रमाण बीचैमा हराउनु हुँदैन । खबरदार ।,’’ सांसद अर्यालले  भन्नुभयो, ‘‘अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डाको नियुक्ति हुन्छ भनेर यही रोष्टमबाट पटक–पटक भनिएको सबैलाई याद होला । खबरदार अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ । देश छोडेर भाग्नसक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस् ।’’

उहाँले पार्टीभित्र भ्रष्टहरू पालेर संसदमा ठूला कुरा नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिनुभयो ।