• १६ चैत २०८०, शुक्रबार

लम्पी स्किन रोगका कारण २२७ चौपाया मरे

blog

लम्पी स्कीन रोगको प्रकोप फैलिएपछि उपचार गर्दै पशुचिकित्सक । तस्बिर – सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, वैशाख २७ गते । खेतीपाती गर्ने बेला लम्पी स्किन रोगको प्रकोप फैलिएपछि यहाँका किसानहरू चिन्तित हुन थालेका छन् ।  जिल्लाभरमा दुई सातायता २२७ वटा पशु चौपाया प्रकोपबाट मरेको पाइएको छ ।

पशुचौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा लाग्ने, सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने र मृत्यु हुने गरेको छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख कलमबहादुर महताराले भेरीबाट सुरु भएको रोग जिल्लाका सबै स्थानीय तहमा महामारीका रूपमा फैलिरहेको बताउनुभयो । 

लम्पी स्किन रोगको प्रकोप फैलिएपछि गाउँगाउँमा पशुचिकित्सक र पशु प्राविधिकहरू खटाइएको छ । महामारीकै रूपमा फैलिएको रोगलाई नियन्त्रण गर्न गाउँगाउँमा पशु चिकित्सक परिचालन गरिएको छ ।