• १४ मंसिर २०८१, शुक्रबार

चिटिक्क बन्यो अरनिको गाउँ

blog

चित्र मिजार 

सिन्धुपाल्चोक, वैशाख २७ गते । राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५, मार्मिङ ट्याङ्थलीमा ‘अरनिको गाउँ’ पुनर्निर्माण भएको छ । ‘अरनिको गाउँ’मा आकर्षक र सुन्दर १० वटा घर पुनर्निर्माण गरिएको हो । ती घरमा कलात्मक रूपमा काठ र इँटाको प्रयोगसँगै ढुङ्गाका छाना हालिएका छन् । स्थानीयको कथन अनुसार राष्ट्रिय विभूति ‘अरनिको’ चीन जाने व्रmममा बाटैमा रात परेपछि तत्कालीन स्थानीय अगुवा बुद्धिमाई तामाङको छाप्रोमा बास बस्नुभएको थियो । 

तत्कालीन राजा जय भीमदेव मल्लको पालामा ‘अरनिको’ ८० जना वास्तुकार, शिल्पकारको नेतृत्व गरेर तिब्बत पुग्नुभएको थिए । ‘अरनिको’ बास बसेको उक्त ऐतिहासिक गाउँमा ‘अरनिकोको’ सम्झनामा एकीकृत रूपमा अरनिको गाउँ बनाएको स्थानीय अगुवा कुमार राउतले जानकारी दिनुभयो । 

 गाउँमा अरनिकोको सालिक, ऐतिहासिक विवरण, पाहुना घर, फोहोरा, प्रवेश द्वार, बगैँचालगायतका संरचना निर्माण गरिएको छ । अरनिको पाहुना घरमा नेपाल र चीनको सबै संस्कृति झल्कने पोसाकलगायतका वेशभूषा सजाइएको छ ।त्यति बेला अरनिकोले स्थानीयसँग देखाएको र एक ज्येष्ठ नागरिकलाई बुद्धको मूर्तिसमेत उपहार दिएको स्थानीयको भनाइ छ । अरनिको नेतृत्वको टोली ट्याङ्थली भिर, दुगुना, खरानी खोला निस्किएर चीनको खासा, ल्हासा हँुदै तिब्बत पुगेको जनाइन्छ । उक्त बाटो पहिला तिब्बतको भोटमा नुन लिन र  पछि व्यापार गर्ने बाटोका रूपमा प्रयोग हुने गरेको थियो । उक्त गाउँमा त्यस बेला दर्जन हाराहारीमा घर रहेका थिए, अहिले ५३० भन्दा बढी घरधुरी रहेका छन् । अरनिको गाउँ पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १६ करोड रुपियाँ बजेट प्रदान गरेको थियो । उक्त नमुना गाउँमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

कलात्मक र सुन्दर गाउँ हेर्नकै लागि जिल्लाभित्र र बाहिरी जिल्लाका आउने गरेका छन् । पर्यटकलाई स्थानीय अर्गानिक खाना, तामाङ समुदायको संस्कृति, वेशभूषा, स्थानीय सम्पदाले लोभ्याउने भएका कारण पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।