• १० जेठ २०८१, बिहिबार

विनियोजन विधेयकले अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैन : सांसद विष्ट

blog

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकर्ण विष्ट।

काठमाडौं, वैशाख २६ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवम् पूर्व मन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको टिप्पणी गर्नुभएको छ । 

सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले ऋणात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको समस्यालाई समाधान गर्न नसक्ने उहाँको दाबी छ । 

मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले झारफुकको आधारमा गरिने उपचार विधिजस्तै गरेर मुलुकको आर्थिक सङ्कटको समाधान गर्न नसकिनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो। 

सांसद विष्टले मुलुकलाई आर्थिक सङ्कटबाट पार लगाउन उच्चस्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिनुभयो। यो आयोगले पेस गरेको प्रतिवेदनअनुसार अनावश्यक खर्च कटौती गरियो भने खर्बौँ रुपियाँ खर्च कटौती हुने भएकाले सरकारले सो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उहाँको तर्क थियो। 

राजस्व मिनाहा रोक्नका लागि महालेखा परीक्षकको कार्यालयले दिएको सुझाव पनि कार्यान्वयनमा ल्याउन सरकारलाई सांसद विष्टले सचेत गराउनुभयो।  ‘‘अर्थतन्त्रमा देखा परेका यस प्रकारका सङ्कट, अर्थतन्त्रको सङ्कुचन र ऋणात्मक अवस्थालाई पार लगाउन केवल नियमित प्रक्रिया, केवल टालटुले प्रक्रियामात्रै पर्याप्त हुन सक्दैन। सङ्कट अत्यन्तै गहिरो छ। तर, सरकारका सिद्धान्त र प्राथमिकता केवल झारफुकको आधारमा गरिने उपचार विधिजस्तो मात्रै छन्। देशको अर्थतन्त्रमा जुन प्रकारका सङ्कट देखा परेका छन्। यी सङ्कटलाई समाधान गर्नका लागि के सरकार तयार छ ?’’ उहाँले प्रश्न गर्दै भन्नुभयो। 

सांसद विष्टले रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक वृद्धिदरमा योगदान पुर्‍याउने क्षेत्रको पहिचान गरेर पनि मुलुकको आर्थिक सङ्कटलाई समाधान गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो।