• १२ मंसिर २०८१, बुधबार

कार्यालय सहयोगीको भरमा अस्पताल

blog

सरकारी अस्पतालमा उपचार नभएपछि दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको लागि भर्ना हुनु भएकी ११४ वर्षीय गोपीमाया पोख्रेल । तस्बिर: अमरराज नहर्की

तनहुँ, वैशाख २६ गते । तनहुँको भानु नगरपालिकामा अस्पताल निर्माण गर्न जग्गा दान दिने परिवारले नै उपचार नपाएर टाढा धाउनु पर्ने बाध्यता भएको छ । अस्पतालको लागि जग्गा दान दिने वडा नम्बर ५ सेपाबगैचा निवासी ११४ वर्षीया गोपीमाया पोख्रेलले उपचार नपाएर निजी अस्पतालमा भर्ना भएर उपचार गर्नुपरेको हो । गोपीमायाले अस्पतालको लागि निःशुल्क जग्गा दान दिनु भएको थियो तर त्यही अस्पतालबाट उपचार नपाए पछि मङ्गलबार तनहुँको सदरमुकाम दमौली स्थित रत्न हरि अस्पतालमा भर्ना गराएर उपचार गर्नु परेको छ ।

गोपीमायाले स्थानीय पुरनडिही स्थित नगर स्तरीय पुरडिही अस्पताललाई बुढेसकालमा आफ्नो उपचार गर्न सहज होस् र गाउँवासीलाई उपचारको लागि टाढा धाउन नपरोस् भन्ने चाहाना राखेर अस्पताललाई जग्गा दान दिनु भएको थियो । सरकारी कार्यालय खुल्ने समय १० देखि ५ बजे सम्म मात्रै सेवा दिने र एक्स-रे मेसिनले पनि काम नगर्ने भएकोले बाध्य भएर निजी अस्पतालमा उपचारको लागि ल्याउनु परेको गोपीमायाको नाति तीर्थराज पोख्रेलले जानकारी दिनुभयो ।

आकस्मिक लगायत अन्य उपचार लिन सहज होस् भनेर हजुरको आग्रहमा आठ आना जग्गा दान दिइएको तर त्यही अस्पतालबाट उपचार नपाउँदा दुःख लागेको पोख्रेलले बताउनुभयो । ‘‘यस भेगका जनताको भलो हुने देखेर जग्गा दान दिइयो तर सरकारी अस्पतालमै हजुरआमाले उपचार पाउनु भएन’’ पोख्रेलले भन्नुभयो ।  आमजनताले सेवा  र सुविधा पाउने सोचाइले हजुर आमाको आग्रहमा दान दिइएको उहाँले बताउनुभयो ।

उक्त अस्पतालले सार्वजनिक बिदा र कार्यालय समय बाहेक अन्य समयमा सेवा बन्द गरेको छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा इमरजेन्सी सेवा नपाएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । बिरामीले उपचार नै नपाई फिर्ता जानु पर्ने अवस्था आएपछि विपन्न समुदायका नागरिक महँगो शुल्कमा निजी क्लिनिक तथा अस्पतालमा भर्ना गर्नुपर्दा मर्कामा परेकाले आक्रोशित भएको सोही ठाउँ निवासी भरत पोख्रेलले बताउनभयो । लामो समय देखि बिग्रिएको एम्बुलेन्स समेत नबनाउँदा महँगो शुल्क तिरेर निजी एम्बुलेन्स प्रयोग गर्नु परेको गुनासो उहाँले गर्नुभयो । पोख्रेलले भन्नुभयो,‘‘सार्वजनिक बिदा तथा शनिवार अस्पतालमा कार्यालय सहयोगी पिएन मात्रै हुने हुँदा गाउँवासीले उपचारबाट वञ्चित भएकाले आक्रोशित हुने गरेका छन् ।’’ भानु नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले दरबन्दी अनुसार चिकित्सक, नर्स तथा कर्मचारी नहुँदा समस्या भएको बताउनुभयो ।

तीन जना चिकित्सक दरबन्दी रहेको अस्पतालमा हाल एक जना डा।विवेक रेग्मी मात्रै कार्यरत रहेकोले उहाँले बिदामा बस्दा सेवा बन्द गर्नुपरेको उहाँले बताउनुभयो । अन्य जनशक्तिको पनि अभाव भएकोले सेवा प्रदान गर्न समस्या भएको भट्टराई बताउनुहुन्छ । भानु नगरपालिकाको उपप्रमुख उमा गोतामेले दरबन्दी अनुसारको चिकित्सकको माग सुनुवाइ नभएकोले अस्पतालको सेवा प्रभावकारी बनाउन नसकिएको बताउनुभयो । उपप्रमुख गोतामे भन्नुभयो‘‘पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकोले कार्यपालिकाको बैठकले नगरपालिकाले आफ्नै स्रोतबाट भए पनि जनशक्ति थप गरी सेवा प्रदान गर्ने निर्णय भएको छ ।’’ पुरनडीही अस्पतालले वैशाख २१ गते आकस्मिक कक्षमा भर्ना हुन आएका बिरामीलाई उपचार नै नगरी फिर्ता पठाएको थियो । 

भानु नगरपालिका–४ तिलाहारका राजु विकलाई प्रेसर हानेर ढलेपछि स्टेचरमा बोकेर गाउँलेहरूले अस्पतालमा पुर्‍याएका थिए तर अस्पतालले बिहान १० देखि ५ बजे सम्म मात्रै सेवा प्रदान गर्ने हो भनेर फिर्ता पठाए पछि निजी मेडिकलमा लगेर उपचार गर्नु परेको वडा नम्बर ४  निवासी तिला बसेलले जानकारी दिनुभयो । बसेलले भन्नुभयो‘‘अस्पतालमा बिरामी लैजाँदा पिएन मात्रै थिए डाक्टरलाई फोन गरेको कार्यालय समयमा मात्रै आउँछु भने बिरामी उपचार पाएनन् बसेलले भन्नुभयो ।’’

Author

अमरराज नहर्की