• २४ पुस २०८१, बुधबार

घर निर्माणको काम अलपत्र

blog

बाजुरा समाचारदाता

बाजुरा, वैशाख २६ गते । बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारको घर निर्माणको काम अलपत्र परेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको डिजाइनभन्दा स्थानीयले आफ्नै मनोमानीमा घर बनाउन थालेपछि निर्माणको काम अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७९/८० मा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित अम्कोटका स्थानीयलाई स्थापित गर्ने गरेर घर निर्माणको काम सुरु गरिएको थियो । अम्कोट १०६ घरपरिवारमध्येकै ८५ जनाले ७५ हजार पहिलो किस्ता रकम पाएका छन् । पहिलो किस्ता रकम पाएका ८५ जनामध्ये १८ जनाले मात्र घर निर्माणको काम सुरु गरेका छन् भने ६७ जनाले अझै घर निर्माणको काम सुरु गरेका छैनन् । बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयले भने प्राविधिकले भने अनुसारकै घर निर्माण गरेको र दोस्रो किस्ता रकम नमिलेपछि  निर्माणको  काम अलपत्र परेको बताएका छन् । 

प्राविधिककै लापरबाहीले बाढीपहिरोबाट विस्थापित भएकाहरूको घर निर्माणको काम अलपत्र परेको बुढीगङ्गा नगरपालिका–१, अम्कोटका स्थानीय अर्जुन पाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपयले प्राविधिककै डिजाइन स्टिमेटमा घर निर्माण गरेका छन् ।” त्योबाहेक एक÷दुई जनाले सो डिजाइन नभएर घरको एक तला थपेपछि दोस्रो किस्ता रकम रोकिदिएको बताउनुभयो । प्राविधिकले भने अनुसारकै घर निर्माण गरेका छाँै । घर निर्माण भएको एक वर्ष हुँदा पनि दोस्रो किस्ता रकम नमिलेको बुढीगङ्गा नगरपालिका–१, अम्कोटका दरिभाने नेपालीले बताउनुभयो ।

गाउँमा ऋण खर्च गरेर घर त बनायौँ तर अहिलेसम्म रकम नपाउँदा घरै बेचेर साहुको पैसा तिर्नुपर्ने बाध्यता भएको नेपालीले बताउनुभयो । बाढीपहिरोबाट प्रभावित भएका अम्कोटका स्थानीयको घर निर्माणकै लागि एक प्राविधिक नियुक्त गरी दैनिक काममा पठाएको बुढीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख शङ्कर नाथले बताउनुभयो ।