सिद्धार्थनगर समाचारदाता
सिद्धार्थनगर, वैशाख २५ गते । लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जनताका स–साना मुद्दाहरू उठाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । उहाँले समाज रूपान्तरणका लागि जनताका एजेन्डामा सरकारलाई दृष्टि पु-याउने र सरकारका नीति जनतालाई बुझाउने गरी कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो।
गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सव विशेष समारोह कार्यव्रmम २०८० को बुटवलमा आयोजित कार्यव्रmमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका बिनाविभागीय मन्त्री पाण्डेले गोरखापत्रले जनताका मुद्दा बोक्नुपर्ने उल्लेख गर्नुभयो।
मन्त्री पाण्डेले भन्नुभयो, “समाचार लेख्नमा नडराऔँ। सत्य, तथ्य समाचार निर्धक्क लेखौँ। नेपालको सिङ्गो इतिहास बोकेको गोरखापत्रको थप ब्रान्डिङ गर्न जरुरी छ।”
उहाँले जनताको पक्षमा कलम चलाउने पत्रकारहरूको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो, “गोरखापत्र संस्थान नै सङ्घीय सरकार मातहतको हो। यसमा काम गर्नेहरू सबैको सुरक्षा जरुरी छ, सरकारले थप ध्यान दिनु पर्छ।”
उक्त अवसरमा बोल्दै पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल पत्रकारिता नेताका भजन गाउने साधन बन्न थालेकाप्रति चिन्ता व्यक्त गर्नुभयो। पर्यटन व्यवसायी माधव नेपालले राज्यले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले देशमा आर्थिक समृद्धि ल्याउन गोरखापत्रले अहम् भूमिका खेल्नुपर्ने उहाँको तर्क छ।
नेपाल पत्रकार महासङ्घ रूपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जीसीले गोरखापत्रको इतिहास जोगाउने दायित्व सरकारको रहेको भन्दै यसको वास्तविक सञ्चालक भने जनता नै रहेको उल्लेख गर्नुभयो। बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव विमलराज भट्टराई नेपालमा विश्वसनीय समाचारको माध्यम नै गोरखापत्र रहेको धारणा राख्नुभयो।
एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा) लुम्बिनीका अध्यक्ष रचना पन्तले गोरखापत्रको विश्वसनीयता अरूको भन्दा बढी र आधिकारिकता रहेको उल्लेख गर्नुभयो।
रूपन्देही उद्योग सङ्घ रूपन्देहीका अध्यक्ष माधव पौडेल गोरखापत्रले जनमानसको विश्वास जित्नुपर्ने भन्दै अब आर्थिक क्षेत्रलाई जोड दिन आग्रह गर्नुभयो। होटल व्यवसायी उपाध्यक्ष रोमाकान्त पाण्डेले गोरखापत्रमा ओेझेलमा परेका र खोजमूलक समाचारको अपेक्षा गरेको बताउनुभयो।
गोरखापत्रका बुटवल समाचारदाता छवि पाण्डे सम्मानित हुनुभएको छ । बुटवलमा आयोजित कार्यव्रmममा करिब तीन दशकदेखि पत्रिकामा कार्यरत पाण्डेलाई कामको कदरस्वरूप दोसल्ला ओढाएर सम्मान गरिएको हो। पाण्डेलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सम्मान गर्नुभएको हो।