लक्ष्मणदत्त पन्त
महेन्द्रनगर, वैशाख २५ गते । दार्चुला जिल्लाका रामसिंह धामी ठेलामा तरकारी बेच्नुहुन्छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बस्नुहुने ४८ वर्षीय धामी २० वर्ष भारतको दिल्ली लगायत विभिन्न ठाउँमा मजदुरी गरेर २०७६ चैत २८ गते घर फर्कनुभएको हो।
घर फर्केपछि पनि पुनः भारत फर्कने सोच बनाएका धामीले यतै केही गर्ने सोच राख्नुभयो। धेरै लगानी लाग्ने कामका लागि पैसा नभए पनि उहाँले कम लगानीमा हुने व्यवसाय गर्नुपर्ने थियो।
उहाँले ठेलामा तरकारी बेच्ने निधो गर्नुभयो र अहिलेसम्म निरन्तर यही व्यवसाय गरिराख्नुभएको छ। “मैले सुरु गरेको दुई वर्ष जति भयो भारतमा भन्दा राम्रो रकम बचत गरिरहेको छु, भारतमा २० हजार नेपाली तलब पाउँथेँ यहाँ खर्च काटेर दैनिक एक हजारभन्दा माथि बचाउँछु,” धामीले भन्नुभयो।
“अहिले २० वर्ष किन भारत बसेहुँला जस्तो लाग्छ, काम सानोठूलो हुँदैन, आफ्नो देशमा गरेमा परिवारसँग बस्न पाएको छु, उहाँले थप्नुभयो।”
गुल्मीका नित्यानन्द घिमिरे पाँच वर्ष मलेसियामा मजदुरी गरेर आउनुभयो । कोरोना महामारीपछि उहाँ नेपाल फर्किनुभएको हो। बसपार्कनजिक भाडामा बस्ने उहाँ पनि ठेलामा तरकारी बेच्नुहुन्छ। मलेसियामा ६० हजार रुपियाँ मासिक कमाउने उहाँ ठेला व्यवसायबाट मासिक ८० हजार रुपियाँ कमाउनुहुन्छ।
सिजनल रूपमा काफल, तरुल, अंङुर, तरकारीलगायतका वस्तु बेच्नुहुने उहाँ महेन्द्रनगर बजारमा ठेला घुमाएर व्यापार गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “मैले मासिक ८० हजार रुपियाँ यतै कमाइरहेको छु, देशमा काम गर्न लाज मान्नु हुँदैन भन्ने अनुभव भएको छ, सबैलाई देशमै काम गर्न र उत्पादनमूलक काममा लगानी गर्न अनुरोध गर्छु।”
यस्तै कोरोनाअघि भारतको दिल्लीमा १६ हजार रुपियाँमा मजदुरी गर्ने नरेन्द्रसिंह धामी अहिले महेन्द्रनगरमा ठेलामा तरकारी बेच्नुहुन्छ। उहाँ कोरोना सङ्क्रमणपछि नेपाल फर्किनु भएको हो। उहाँ भन्नुहुन्छ, “अहिले ठेलामा फलफूल व्यवसायबाट मासिक ३० हजार रुपियाँ बढी कमाइ भइरहेको छ।”
भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने दम्पती तारा पार्की र ईश्वरी पार्की दुई वर्षअगाडि भारतको बेङ्गलोरमा काम गर्नुहुन्थ्यो। कोरोना महामारीमा २०७६ साल वैशाखमा घर फर्किनुभएका पार्की भारतमा २० हजार नेपाली रुपियाँ कमाउनुहुन्थ्यो।
तर अहिले ठेलामा दुई वटै बुढाबुढी तरकारी बेच्नुहुन्छ। उहाँहरू मासिक ५० हजार रुपियाँ कमाइराख्नु भएको छ। उहाँले भन्नुभयो, “दुई वर्षदेखि ठेलामा तरकारी व्यवसायी गरेका छौँ, सन्तुष्ट छौँ।”
यी त प्रतिनिधि पात्र मात्र हुन्। यस्तै कञ्चनपुरमा तीन सयभन्दा बढी ठेला व्यवसायी रहेको र ९० प्रतिशत नेपाली रहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले बताउनुभयो। यस्तै लामो समयदेखि ठेला व्यवसाय गरिरहेकाहरू स्थापित भइसक्नुभएको छ।
२०५४ सालमा बैतडीको तत्कालीन दशरथचन्द नगरपालिका–१३ (हाल दोगडाकेदार नगरपालिका–४) का वडाध्यक्ष भइसक्नुभएका दामोदर भट्टले २०६४ सालमा सुरु गर्नुभएको ठेलामा ब्रेड बेच्ने व्यवसायलाई छोरा जगदीश भट्ट र बुहारी हीराकुमारी पाण्डेय भट्टले अगाडि
बढाउनुभएको छ। पाँच वर्षपहिले दामोदरको स्वास्थ्य अवस्था खराब भएपछि उहाँ पहाड जानुभयो र छोरालाई जिम्मेवारी दिनुभयो। अहिले छोराबुहारी दुवै मिलेर चिया, समोसा, ब्रेड, अन्डा, पकौडा, मःम, बिरयानीलगायतका खानेकुरा बनाउने उहाँहरूले मासिक ६० हजार रुपियाँ कमाइ गरिराख्नुभएको छ।
ठेला व्यापारी भट्टले भन्नुभयो, “मान्छेले कर्म गर्नुपर्छ, आफ्नै देशमा काम गर्न सिक्नु पर्छ, मासिक कम्तीमा ६० हजार रुपियाँ कमाइ हुन्छ।” ठेलाबाट कमाएर उहाँले भीनपा–२ मा एक कट्टा जग्गा पनि खरिद गर्नुभएको छ।
कैलाली जोशीपुर बस्ने सागर चौधरी भीमदत्त नगरपालिका– २, भाँसीमा भाडामा बस्नुहुन्छ। उहाँ र उहाँकी श्रीमती सञ्जुले पानीपुरी, जुस र फलफूल बेच्ने गर्नुभएको छ। सबै खर्च काटेर ७० हजार रुपियाँ मासिक कमाउने गर्नुभएको छ।
१५ वर्षदेखि ऐठपुर नहरनजिक ठेला पसल सञ्चालन गर्दै आउनुभएका सुरेश भट्ट र उहाँका तीन भाइको ठेलामै काम गर्नुहुन्छ। उहाँले पनि मासिक एक लाख कमाइ गर्नुभएको छ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले १६ वर्षदेखि महेन्द्र राजमार्गमा पर्ने भाँसी चोकमा ठेलाबाट पानीपुरी, चाट, ब्रेड र चाउमिन बेच्दै आउनुभएको छ। उहाँहरूले पनि मासिक ८० हजार रुपियाँभन्दा बढी कमाइ हुने बताउनुहुन्छ।
यस्तै होटल ओपेरा अगाडि ठेलामै मःम, चाउमिन र बिरयानी बेच्ने लक्ष्मी जोशी कोरोनाअघि भारतको हरियाणामा मासिक १६ हजार कमाउनुहुन्थ्यो। उहाँले अहिले मासिक ६० हजार रुपियाँ कमाउने बताउनुहुन्छ।
कोरोना महामारीपछि महेन्द्रनगर बजारमा ठेला व्यवसायमा नेपालीहरू देखिन थालेका हुन्। दशकौँदेखि प्रायः भारतीय नागरिकले ठेला व्यवसाय गर्दै आएका थिए। ठेलाबाट गरिने तरकारी, ब्रेड पकौडा, अन्डा, चाट, मःम, पानीपुरी, समोसा, चिया, बिरयानी, लुगाकपडा, पराठा, मकै, आइसक्रिम, फलफूललगायतका वस्तु बिक्री हुने गर्छन्।
२०७६ साल चैतमा कोरोनाका कारण लकडाउन भएपछि भारतबाट नेपाल फर्केका नेपाली धेरै मजदुर भारत फर्केनन्, बरु नेपालमै बसेर सानोतिनो व्यवसाय गर्न लागे। नेपालीले व्यवसाय सञ्चालन गर्न थालेपछि भारतीयहरू विस्थापित हुनुपरेको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले बताउनुभयो।