• २१ असार २०८१, शुक्रबार

प्रकृतिको सन्तुलनका लागि कृत्रिम पोखरी निर्माण

blog

नवराज श्रेष्ठ

रामेछाप, वैशाख २५ गते । सुक्खा क्षेत्रमा पोखरी निर्माण गर्दा वर्षामा परेको पानी सङ्कलन हुने र त्यसबाट पुनर्भरण (रिचार्ज) भई पानीका मुहान संरक्षण हुने विश्वासका साथ कृत्रिम पोखरी निर्माण गर्ने गरिन्छ। रामेछाप जिल्लाका केही स्थानीय तहले विभिन्न गैरसरकारी संस्थासँग मिलेर पोखरी निर्माण गर्न सुरु गरेका थिए तर यो अभियानले निरन्तरता पाउन सकेको थिएन। 

अहिले फेरि केही स्थानीय तहले सुक्खाग्रस्त क्षेत्रमा पोखरी निर्माण गर्न थालेका छन्। रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले हेफर नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा जिल्लाकै सबभन्दा ठूलो कृत्रिम पोखरी निर्माण गर्ने योजना अगाडि सारेको छ। यो गाउँपालिकाको वडा नं. ३ मा पर्ने भिरपानीको आहालडाँडामा पुनर्भरण पोखरी निर्माण सुरु गरेको हो। 

वर्षाको पानी सङ्कलन गरी रिचार्ज गर्न पोखरी निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो। “गाउँपालिकाको वडा नं. ३, भिरपानीको आहालडाँडामा पोखरी निर्माणका लागि अहिले जमिन सम्याउने काम भइरहेको छ, पोखरी एक सय मिटर लामो र ६० मिटर चौडा हुनेछ,” उहाँले भन्नुभयो। 

पाँच मिटर गहिरो बनाउने योजना भए पनि जमिनको संरचनाका कारण त्यति गहिरो खन्न नसकिने हो कि भन्ने अवस्था आएको उहाँले बताउनुभयो। यो पोखरीलाई पाँच मिटर गहिरो बनाउँदा तीन करोड लिटर पानी अट्ने बताइएको छ। पाँच मिटर गहिरो पोखरी बनाउन २० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ। 

सुक्खा क्षेत्रमा स्थानीयले पशुपन्छीलाई पानी खुवाउन कृत्रिम पोखरी÷आहाल निर्माण गर्ने चलन थियो। यसले पशुपन्छीलाई पानी खुवाउन मात्रै सजिलो भएको नभई पुनर्भरण (रिचार्ज) गर्न पनि सहयोग गरेको थियो। विगतमा स्थानीयले बनाएका आहाल संरक्षण नहुँदा अधिकांश मासिएका छन्। ठाउँ ठाउँमा सडक खन्ने र खेल मैदान बनाउने कार्यले पुराना पोखरी पनि पुरिएका छन्। यसले गर्दा जमिनमा रिचार्ज नहुँदा गाउँघरमा धारा, पँधेरा सुकेका छन्। 

गाउँपालिकाले सुरु गरेको यो कामले वातावरण संरक्षणमा समेत सहयोग पुग्ने हेफर रामेछापका कार्यव्रmम संयोजक माधव ढकालले बताउनुभयो। “खाँडादेवी गाउँपालिकाका अधिकांश वडा सुक्खाग्रस्त छन्। सुक्खा ठाउँको प्रकृतिलाई सन्तुलन कायम राख्न यस्ता पोखरी अत्यावश्यक छ,” उहाँले भन्नुभयो।